सुजन काफ्ले
चरीकोट, पौष १६ गते । नेकपा एमाले दोलखाले पार्टी कार्यक्रम र बैठकलाई तीव्रता दिन थालेको छ । जिल्लामा राजनीतिक गतिविधि बढाएको दोलखा एमालेले गाउँ जाने अभियान सुरु गर्ने भएको छ।
२०७९ को स्थानीय तहको निर्वाचनमा दुई नगरपालिका र ७ गाउँपालिका गरी नौ स्थानीय तहमध्ये एमाले सात स्थानीय तहमा पराजित भएको थियो । स्थानीय प्रदेश र सङ्घको निर्वाचनमा समेत राम्रो मत ल्याउन नसकेको एमाले भर्खरै उपनिर्वाचनमा एक्लै चुनावी प्रतिस्पर्धा गरेर गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष जितेपछि जिल्लामा चहलपहल बढाउन थालेको छ ।
एमाले दोलखाले शनिबार र आइतबार जिल्ला कमिटी बैठक बसेर १९ वटा निर्णय सार्वजनिक गरेको थियो । सो निर्णयमा दोलखामा सञ्चालित र निर्माणाधीन हाइड्रोपावरविरुद्ध एमाले दोलखा आक्रामक देखिएको छ । हाइड्रोपावरले दोलखाली जनताको हितमा काम गर्न नसकेको र हाइड्रोपावरको अनियमितता बढ्दै गएको आरोप एमाले दोलखाको छ ।
बैठकको निर्णय सार्वजनिक गर्दै एमाले दोलखाले तामाकोशी पाँचौँ जलविद्युत् आयोजना अपर तामाकोशी हाइड्रोपावर कम्पनी मातहत नै सञ्चालन हुनुपर्नेमा अर्को कम्पनी खडा गरी सञ्चालन गर्नु दोलखाली जनताको हितविपरीत रहेको बताउँदै हाल उक्त कम्पनीले पारदर्शी ढङ्गबाट काम सञ्चालन नगरी सार्वजनिक सुनुवाइसमेत नगरी जनताको जान्न पाउने अधिकार कुण्ठित गराएको भन्दै जनताको स्वामित्व र सेयर सुनिश्चित गरेर स्थानीयवासीलाई रोजगारलगायत अन्य सेवा सुविधा प्रदान गर्दै पारदर्शी ढङ्गले काम अगाडि बढाउन माग गरिएको छ ।
राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई धराशायी बनाउन विभिन्न षड्यन्त्र भइरहेको, अझै विभिन्न कारणले दोहन र भ्रष्टाचारले जनताको सेयर लगानी व्यर्थ भइरहेको भन्दै बैठकले त्यसमा ध्यानाकर्षण भएको निर्णय गरिएको नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको छ । दुगड हाइड्रोपावरले तिब्बत नाका खोल्ने सरकारी योजनालाई चुनौती दिँदै बाटो खोल्ने नाममा माथिल्लो तामाकोशीको ड्यामसाइडलाई ठुलो हानी नोक्सानी पुर्याइरहेकोप्रति ध्यानाकर्षण भएको दोलखा एमालेले जनाएको छ ।
जनताको माग र आवश्यकतालाई बेवास्ता गर्दै विगु गाउँपालिकामा सञ्चालित हाइड्रोपावरहरूले पर्यावरणलाई क्षति पुग्ने गरी सञ्चालन गरिरहेको जनगुनासो आएको भन्दै बैठकले सम्बन्धित हाइड्रोपावरहरूलाई जनताको कुनै पनि विषयमा हानि नपुग्ने गरी निर्माण कार्य अघि बढाउन सचेत गराउने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
बैठकले दोलखा जिल्लालाई हाइड्रो हबको रूपमा विकास गर्दै हाइड्रो टुरिजमको परिकल्पनामार्फत दोलखा र जनताको समृद्धिमा योगदान पुग्न सक्ने गरी लगानीमैत्री वातावरण बनाउनुपर्ने निर्णय गरेको छ । सो उद्देश्यविपरीत कतिपय परियोजनाहरू जनगुनासोलाई बेवास्ता गर्दै भ्रष्टाचार, अनियमितता र विकृतिको दलदलमा डुबिरहेका बैठकले निष्कर्ष निकालेको छ । ‘ती हाइड्रोपावरहरूले सार्वजनिक सुनुवाइसमेत नगरी जनतालाई गुमराहमा राखेर प्राकृतिक स्रोतको व्यापक दुरुपयोग गरिरहेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, दोलखाको सबै हाइड्रोपावर आयोजनाहरूलाई दोलखाली जनताको हितमा सञ्चालन गराउनका लागि अभियान सुरु गर्ने घोषणा गर्दै यो बैठकले प्रस्ताव पारित गरेको छ’, निर्णयमा लेखिएको छ ।
राष्ट्रकै समुन्नतिमा विशेष योगदान दिन सक्ने बहुआयामिक परियोजनाको रूपमा रहेको र सम्भाव्यता अध्ययनसमेत भइसकेको तामाकोशी तेस्रो जलविद्युत् आयोजना हालसम्म सञ्चालन नगरी लाइसेन्स होल्ड गरेर राख्नुलाई बैठकले गम्भीरतापूर्वक लिएको छ । दोलखावासीको समृद्धिको भविष्यसँग गाँसिएको उक्त आयोजना पूर्ण क्षमतामा नै सञ्चालन गर्न र नसके सो कम्पनीको लाइसेन्स रद्द गरी विकल्प खोज्न नेपाल सरकारसँग बैठकले माग गरेको छ ।
हाइड्रोपावरसँगै एमाले दोलखाले जिल्लाका समासायिक विषय र राष्ट्रिय र प्रदेशका गौरबका आयोजन सञ्चालन गर्न पनि सरकारसमक्ष माग गरेको छ । बैठकले गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनालाई हालसम्मको कार्यमूल्याङ्कन र समीक्षा गर्दै अघि बढ्न आह्वान गरेको छ । उक्त आयोजनाले जनताको दैनिक जीविकोपार्जनमा असर पर्ने गरी कार्य गरिरहेको र जनताका समस्याको सुनुवाइ नगरी नागरिकहरू विस्थापित हुने अवस्थामा पुर्याएको भन्दै बैठकले ध्यानाकर्षण गराएको छ ।
भीमेश्वर नगरपालिका–९ स्थित खरिढुङ्गा एसियाकै ठुलो मानिएको म्याग्नेसाइट उद्योग तथा खरी खानी र उत्तरी क्षेत्र विगु गाउँपालिकास्थित आलम्पुमा रहेको स्लेट ढुङ्गा खानी सञ्चालन गर्न माग गर्ने निर्णय गरिएको एमालेले जनाएको छ । दोलखा भीमेश्वर, कालिञ्चोक मन्दिर, शैलुङ्ग, विगु तथा लप्ची गुम्बा, पवित्र गौरीशङ्कर र च्छोरोल्पा हिमताललाई एकै कोरिडोरमा समेटी धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकासका गर्न बैठकले माग गरेको छ ।
एमाले दोलखाका अध्यक्ष श्रेष्ठले एमालेको मात्र नभएर सार्वजनिक महत्त्वका प्रस्तावहरु दोलखा जिल्लाको विकासका निम्ति साझा अवधारणाको रुपमा स्थापित गर्न सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।