• २१ पुस २०८१, आइतबार

ओत संरक्षणका लागि अनुगमन

blog

ओत संरक्षणका लागि जुटेको अनुगमन टोली ।

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), पुस १६ गते । आइयुसिएनको रातो सूचीमा रहेको ओत (थारू भाषामा उदुवा) संरक्षणका लागि सञ्चालन भएको समुदायको जीविकोपार्जन तथा अभिभावकत्व सबलीकरण परियोजनाको अवस्थाबारे स्थलगत अनुगमन गरिएको छ । “कर्णाली नदीमा ओत संरक्षणका लागि समुदायको जीविकोपार्जन तथा अभिभावकत्व सबलीकरण परियोजना लागु गरिएको छ । सो परियोजना विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र नेपाल सरकारको समन्वयमा बेलायत सरकार अन्तर्गत डार्विन इनिसिएटिभको आर्थिक सहयोगमा डल्फिन संरक्षण केन्द्रले परियोजना सञ्चालन गरिरहेको छ । 

अनुगमनमा सहभागीलाई विज्ञ आशिष कपालीले विश्वमा १३ प्रजाति, एसियामा पाँच प्रजाति र नेपालमा तीन प्रजातिका ओत रहेको जानकारी दिनुभयो । नेपालमा खैरो र कालो ओत पाइने भए पनि कर्णाली नदीमा खैरो ओत पाइने गरेको जनाउँदै कपालीले परियोजनाको मुख्य उद्देश्य ओत संरक्षण रहेको उल्लेख गर्नुभएको थियो । समूहले ओतको वासस्थान रहेको कर्णाली नदीमा माछा संरक्षण क्षेत्रको समेत अनुगमन गरेको छ । विशेषज्ञले कर्णाली नदीमा माछाले अन्डा र भुरा पार्ने क्षेत्र पहिचान गरेपछि सो क्षेत्रलाई फिस सेन्चुरी क्षेत्रका रूपमा संरक्षण गर्दै आएको कार्यक्रम सहायक कपालीले जानकारी दिनुभयो । 

उहाँले ओत स्तनधारी मांसाहारी प्राणी रहेको र माछा भएको ठाउँमा ओतको वासस्थान भएकाले ओतको संरक्षणका लागि आहारामा कमी हुन नदिन नदीमा आश्रित समुदायको जीविकोपार्जनमा जोड दिएको बताउनुभयो । अनुगमनका क्रममा जीविकोपार्जनसँग जोडिएका विभिन्न समूहसँगको छलफल कार्यक्रममा प्रतिनिधि सभाका सदस्य गङ्गाराम चौधरीले जलचर प्राणीको पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले तरकारी खेती संरक्षणसँग सम्बन्ध रहेको उल्लेख गर्दै तरकारी खेतीमा प्रयोग हुने विषादी बगेर नदीसम्म पुग्ने भएकाले विषादीरहित तरकारी खेत गर्न सुझाव दिनुभयो ।

त्यसै गरी सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले वन वातावरण, वन्यजन्तु जोगाउन समुदायको महत्वपूर्ण भूमिका रहने जनाउँदै ओत संरक्षणमा एकजुट हुन आग्रह गर्नुभएको थियो । कैलाली र बर्दियाका कर्णाली नदी आसपासका टीकापुर, राजापुर, लम्कीचुहा, भजनी नगरपालिका र जानकी, गेरुवा गाउँपालिकाका कर्णाली नदीमा आश्रित ३७५ घरपरिवार रहेका छन् । ७५ जनालाई तालिम दिएर जनचेतना फैलाइएको छ भने १९७ घरधुरीलाई सिपमूलक तालिम दिएर जीविकोपार्जनका कार्यक्रममा जोडिएको छ । 

ओतको महìव नबुझ्दासम्म कर्णाली चिसापानीमा माछा मार्नेहरू संरक्षणमा एक हुँदै गएका छन् । राजापुरका दुखनी चौधरीले ओतलाई कर्णालीको माछा खाइदिन्छ भन्दै पहिला दुस्मन जस्तो व्यवहार गरे पनि अहिले यसको महìव बुझेपछि सखीका रूपमा लिई संरक्षणमा जुटेको बताउनुभयो । डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले परियोजना सञ्चालन भएको दुई वर्ष पुग्न लागेको जानकारी दिँदै ओतको मुख्य आहारा माछा रहेको र कर्णाली नदीमा अवैध रूपमा विषादी प्रयोग गरेर माछा मार्ने कार्यको रोकथाम मुख्य चुनौती रहेको बताउनुभयो । शनिबार भएको अनुगमनमा सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्ट, डिभिजन वन कार्यालय पहलमानपुर कैलालीका प्रमुख रामचन्द्र कँडेल, कैलाली जिल्ला समन्वय समिति प्रमुख टीका भुल, जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी, राजापुर नगरपालिकाका नगर उपप्रमुख मनकलाकुमारी चौधरी, लम्कीचुहा नगरपालिका उपप्रमुख जुना चौधरी, बर्दिया राष्ट्रिय निकुञ्जका प्रतिनिधिलगायत सहभागी हुनुहुन्थ्यो ।