• १९ पुस २०८१, शुक्रबार

स्थिरताका लागि मेलमिलाप

blog

आधुनिक नेपालको राजनीतिक अभ्यासमा राजनीतिक अस्थिरता सबैभन्दा ठुलो समस्याका रूपमा उपस्थित हुँदै आएको छ । निर्वाचनपछि निर्मित संसद्ले बनाएको सरकारको आयु संविधानमै पाँच वर्ष तोकिएको छ तर कुनै पनि सरकारले यो अवधि पूरा गर्न सकेको छैन । संसद्मा प्रस्ट बहुमत भएको पार्टीको सरकारसमेत पूरा अवधि टिक्न सकेको छैन । राजनीतिक अभ्यासलाई सत्ता प्राप्तिको खेलका रूपमा सीमित गरिएको छ । लोकतान्त्रिक राजनीतिक अभ्यासबाट नागरिक जसरी लाभान्वित हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । दोष प्रणालीमा छैन, राजनीतिक अभ्यासकर्ताको प्राथमिकता सत्ता मात्र हो भन्ने मानसिकता नै नेपालको सबैभन्दा ठुलो समस्या बनेको छ । स्थिर सरकार निर्माण र त्यो सरकार निर्धक्कका साथ काम गर्ने वातावरण यी दुई कुरा सधैँ अभावको विषय बन्दै आएको छ । 

सत्ताका लागि हुने होडबाजीले नेपालको आन्तरिक एकतासमेत कमजोर हुने र विदेशीको चलखेल बढ्ने भइरहेको छ । एउटा शक्तिलाई निषेध गर्न अर्को शक्तिलाई उपयोग गर्ने अनि नेपालको राजनीतिलाई अस्थिर बनाइराख्ने विदेशी रणनीति सधैँ प्रभावशाली देखिँदै आएको छ । अस्थिर राजनीतिले सुशासन सबैभन्दा कमजोर भएको छ । अहिले नागरिकमा देखिएको दिग्दारीको प्रमुख कारण भनेकै सुशासनको अभाव नै हो । अस्थिर सरकार बन्दै गर्दा स्वार्थ समूह लाभान्वित हुँदा रहेछन् । सत्ताको खेलमा पैसावालको प्रभाव देखिँदो रहेछ । सरकारबाट आफू अनुकूलको नीति बनाउनका लागि पैसा खर्चेरै सरकार फेरबदलका प्रयत्नमा उनीहरू हाबी हुँदा रहेछन् । यो हामीले थुप्रै वर्षदेखि भोग्दै आएको कुरा हो । निश्चित स्वार्थका आँखाले नेपाललाई हेर्ने र आफू अनुकूलको नेपाल बनाउने चाहना विदेशीले समेत राख्दै आएको कुरा पनि खुला गोप्य नै हो । चरम राजनीतिक ध्रुवीकरणले अर्काको अस्तित्व सहज रूपमा स्विकार्ने संस्कृतिसमेत मर्दै गएको छ । हामीबिचको धु्रवीकरणमा विदेशी खेल्ने नै भए । यही खेलले हाम्रो राष्ट्रियतासमेत कमजोर बन्दै गएको छ । बलियो राष्ट्रियता र सद्भावपूर्ण आपसी सम्बन्ध निर्माणको प्रारम्भ गर्न हामी जति ढिला गर्छौं, त्यति नै मुलुकको समय बर्बाद हुँदै जाने छ । अब पनि समय बर्बाद गर्ने छुट कसैलाई हुनुहुँदैन । ‘अस्थिरताको अन्त्यका लागि’ भन्ने नारा दिएर अहिले संसद्का दुई ठुला दल मिलेर सरकार चलाइरहेका छन् । संसदीय अभ्यासमा यस्तो सरकार ठिक कि बेठिक भन्ने बहस पनि चलिरहेको छ । त्यो बहसलाई आफ्नो ठाउँमा चल्न दिएर स्थिर सरकार हुँदा के उपलब्धि हुँदो रहेछ ? भन्ने सवालको जवाफ नागरिकलाई सन्तुष्ट हुने गरी दिन सक्ने हो भने मात्र यस्तो अभ्यासका सन्दर्भमा चलिरहेको बहसले निष्कर्ष दिन सक्छ । यसतर्फ सत्ता सञ्चालकले गम्भीरतापूर्वक सोच्न जरुरी छ । 

लोकतन्त्रको लडाइँमा विदेशमा निर्वासित जीवन बिताइरहेका बिपी कोइराला २०३३ सालमा मेलमिलापको नीतिसहित स्वदेश फर्केका थिए । स्वदेश फर्कंदा राजाको व्यवहार कस्तो होला ? आफूमाथिका मुद्दा, जो तत्कालीन कानुन अनुसार फाँसीको सजायसम्म हुन सक्ने खालका थिए, तिनको अवस्था के होला ? भन्ने जस्ता सवाललाई पूर्ण रूपमा बेवास्ता गर्दै बिपी नेपाल फर्केका थिए । त्यतिबेला उनको एउटा मात्र कुरा थियो कि देशभित्रका शक्तिबिच मेल हुनु पर्छ र विदेशी खेललाई निस्तेज पार्नु पर्छ । पवित्र मनसायले आफूले चालेको कदमलाई त्यतिबेलाको संस्थापन अर्थात् राजाले सकारात्मक रूपमा लिने छन् र संवादबाट क्रमशः पूर्ण प्रजातन्त्रको बाटोमा हामी अगाडि बढ्ने छौँ भन्ने विश्वासले उनलाई यो कदम चाल्न प्रेरित गरेको थियो । बिपीले राजाका कारण देशमा निरङ्कुश शासन चलिरहेको अवस्थामा समेत राष्ट्रिय शक्तिका रूपमा राजालाई स्वीकार गरेर लोकतन्त्रको मार्गमा अगाडि हिँडौ भनेर प्रस्ताव गरेका थिए । अहिले प्राप्त लोकतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय शक्तिबिच न्यूनतम सहमतिको खोजी गर्ने र साझा एजेन्डा तय गर्ने संस्कृतिको विकास गर्न किन राजनीतिक नेतृत्वले हिम्मत गरिरहेको छैन ? यसको पछाडि कारण के हो ? यो विषयमा पनि अब बहस थालिनु पर्छ । राष्ट्रियताको सवालमा किन सबै दल र शक्ति एक ठाउँमा उभिन सकिरहेका छैनन् ? किन ‘म राष्ट्रवादी, तँ विदेशी दलाल’ भनेर हाम्रै नेताले कित्ताकाट गरिरहेका छन् ? यसको पछाडि कुन मनोविज्ञानले काम गरिरहेको छ ? यो सवालमाथि पनि गम्भीरता साथ घोत्लिनु परेको छ । अर्काको अस्तित्व स्वीकार गर्दै अगाडि बढ्ने हो भने मात्र आपसी विश्वास बढ्छ र त्यसले बलियो राष्ट्रियता निर्माण गर्दछ । त्यहीँबाट सुशासनको अभ्यास पनि सुदृढ हुँदै जान्छ । 

सात सालको क्रान्तिलाई हामी राणाविरोधी क्रान्ति भन्छौँ तर बिपी कोइरालाले एउटा अन्तर्वार्तामा त्यो क्रान्तिबारे भनेका छन्, “हामी त्यतिबेला राणाहरूको खिलाफ थिएनौँ, सुवर्णजीलगायत थुप्रै मेरा राणा साथी थिए । हाम्रो लडाइँ त त्यतिबेलाको राजनीतिक प्रणालीको खिलाफ थियो ।” सात सालको क्रान्तिबारे बिपीको यो धारणा होस् अथवा नेल्सन मन्डेलाले काला जातिमाथिको विभेद अन्त्यका लागि लडेको लडाइँको सफलतापछि आफ्नो उपराष्ट्रपतिमा गोरा जातिका व्यक्तिलाई चयन गरेको सवाल नै किन नहोस्, त्यसबाट हामीले पनि आन्तरिक एकता र सद्भावको वातावरण बनाउनका लागि आफूलाई प्रेरित गर्न सक्नु पर्छ । “सात सालमा हामीले सिङ्गो नेपाल र सबै नेपालीले हामी सबै नेपाली हौँ भनेर अनुभूति गर्ने गरी जय नेपालको कल दियौँ,” बिपी कोइरालाले भनेका थिए, “मेचीदेखि महाकालीसम्म एउटै लक्ष्य बोकेर हिँड्ने अवस्थाको सिर्जना भयो ।” यसरी देशलाई एकताबद्ध बनाउने अभियानको निरन्तरताका लागि बिपी कोइरालाले मेलमिलापको नीति ल्याएका थिए । राजाको गैरजिम्मेवार चरित्रले त्यतिबेला यो प्रस्तावलाई गम्भीरताका साथ बुझ्न सकेन । त्यो नै आजको गणतन्त्र स्थापनाको एउटा प्रस्थानविन्दु बन्यो । बिपीले त्यतिबेला नै भनेका थिए, “राजा र हामीबिच मेल होस् र पूर्ण प्रजातन्त्रको बाटोमा हामी अगाडि बढौँ, यो व्यवस्था (पञ्चायत) स्वयम् राजाका लागि पनि फाइदा छैन ।” पूर्ण लोकतन्त्रको बाटोमा हिँड्ने बिपीको प्रस्ताव स्विकारेको भए अहिलेको परिस्थिति भिन्नै पनि रहन सक्थ्यो होला ।

देशभित्रका शक्तिबिच हुने मेल नै राष्ट्रियता र लोकतन्त्रलाई बलियो बनाउने अचुक अस्त्र हो भने राष्ट्रलाई समृद्ध बनाउने अभियानको ऊर्जा हो । बिपीको २०३३ सालको मेलमिलापको नीतिको मर्म खासमा यही नै हो । बिपीमा त्यतिबेला एउटा आत्मविश्वास जागृत भएको थियो कि नेपालले आन्तरिक एकता निर्माण गर्‍यो र सही ढङ्गको परराष्ट्र नीतिको अभ्यास गर्‍यो भने दक्षिण एसियाकै नेतृत्व गर्न सक्छ । तपाईंको अबको लक्ष्य प्रधानमन्त्री बन्ने हो ? भन्ने आशयको एउटा प्रश्नमा बिपीले भनेका थिए, “साउथ एसियामा प्रभावकारी भूमिका खेल्न सक्छौँ । एसियाको रिभोलुसन (क्रान्ति) का लागि योगदान दिन सक्छौँ । एसियामा नै योगदान दिने लक्ष्य हो मेरो । म त्यो गर्न सक्छु भन्ने लाग्छ । अहिले त भारतलाई खुसी पार्ने कि चीनलाई खुसी पार्ने कि ? भन्ने रियाक्सनको पोलिटिक्स छ ।” देशभित्रको आन्तरिक एकताले नेतृत्वमा त्योसम्मको ऊर्जा दिँदो रहेछ भन्ने कुरा बिपीको यो अभिव्यक्तिले बुझ्न मद्दत पुर्‍याउँछ । 

राजनीतिक अस्थिरताले बढाएको धु्रवीकरणले आन्तरिक एकतालाई कमजोर पारेको छ । एकता कमजोर भएका बेला नेतृत्वले पनि अलिकति माथि उठेर हेर्न र भूमिका खेल्न सक्दैन । त्यो आत्मविश्वास नै पैदा हुँदैन । कामचलाउ र औसतको नेतृत्वबाट अहिलेको समस्याले मुक्ति दिन सक्दैन । अलि उम्दा नेतृत्व निर्माण गर्नका लागि यो अस्थिर वातावरण उपयुक्त हुँदैन । त्यसकारण हामी अहिले अत्यन्त ठुलो समस्याको घेरामा फसेका छौँ । यसबेलामा फरक ढङ्गले नयाँ सोचको विकास गर्दै सुशासनसहितको स्थिर शासनप्रणाली निर्माणतर्फ कदम चाल्नुपर्ने बेला भएको छ । निर्वाचन प्रणालीमा हेरफेर गर्दै त्यस्तो कदम चाल्न सकिन्छ कि भन्ने बहस पनि सुरु भएको छ । यो बहसले अब सही गति पकड्यो भने हामी सही ठाउँमा पुग्छौँ कि भनेर आशा गरौँ । वर्तमान सत्ता गठबन्धन बन्दै गर्दा संविधान संशोधन गर्ने र निर्वाचन प्रणालीमा सुधार ल्याउने सहमति भएको भनिएको थियो तर त्यसतर्फ अनुभूति हुने गरी अझै काम हुन सकेको छैन । यसो गर्नेतर्फ लाग्दै गर्दा पनि सबै घरेलु शक्तिबिच सहमतिको खोजी गर्नै पर्छ । त्यसका लागि मेलमिलापको मर्मप्रति सबै प्रतिबद्ध हुनै पर्छ । राष्ट्रियता, पूर्ण प्रजातन्त्र र सद्भावपूर्ण राष्ट्र निर्माणका लागि जसरी बिपीले आफूलाई सत्ताच्युत गरी थुन्ने राजालाई समेत मेलमिलापको प्रस्ताव गरे, त्यसै गरी अहिले पनि सबैले सबैलाई मिलौँ भन्ने प्रस्ताव गर्न जरुरी छ । त्यतिबेला बिपीले मेलमिलापको प्रस्ताव गर्दैगर्दा भनेका थिए, “राजासँग प्रजातन्त्रको सवालमा मेरो लडाइँ जारी रहन्छ ।” त्यस्तै गरी अहिले पनि राष्ट्रिय शक्तिले आफ्ना एजेन्डा र विचारप्रतिको प्रतिबद्धतामा किञ्चित् पनि सम्झौता नगरी सुशासनसहितको लोकतन्त्रको सुनिश्चितका लागि साझा धारणा र रणनीति बनाएर अगाडि जान सक्नु पर्छ । प्रतिष्ठाको लडाइँ भन्दै अलग अलग कित्तामा उभिने, विदेशी अनुकूलको खेल खेलिदिने र त्यसैमा रमाउने प्रवृत्तिले व्यापक निराशा जन्माएको छ । नागरिकको उत्साहमा मात्र राष्ट्रियता र लोकतन्त्र सुदृढ हुँदै जाने हो । त्यसकारण निराशा चिर्नका लागि सबै एक ठाउँमा उभिन सक्नु पर्छ । २०३३ पुस १६ गतेको बिपीको मेलमिलापको नीतिको सान्दर्भिकता आजपर्यन्त छ । मेलमिलापको नीति भनेको ‘मिलौँ, पूर्ण प्रजातन्त्रको बाटोबाट आर्थिक समृद्धि हासिल गरौँ’ भन्ने नै हो । मिल्न नदिने तत्वको खेलमा अब कोही पर्नु हुँदैन । बिपी २०३३ सालमा मेलमिलापको नीतिका साथ फर्कंदा काराबास जानु पर्‍यो । नेपालको राष्ट्रियता, आन्तरिक एकता र लोकतन्त्रको लडाइँमा त्यो ठुलो धक्का थियो । मिलापको संस्कृति नै स्वाधीन नेपालका लागि उच्चतम संस्कृति हुने छ । मेलमिलाप गरौँ भनेर आएका बिपीलाई काराबासमा हालेपछि उनले आफ्नो डायरीमा लेखे, “हामी र राजाबिचको सहमतिप्रति एउटा तत्व सशङ्कित छ, त्यो हो भारत ।” नेपालको आन्तरिक एकताप्रति विदेशी सधैँ सशङ्कित रहँदै आएको देखिन्छ । बिपीले स्पष्ट रूपमा खुलेर किटानसमेत गरिदिए । यो कुराले पनि हामीलाई आन्तरिक एकता सुदृढ गर्न प्रेरित गर्नु पर्छ । यो समयले बलियो राष्ट्रियता, सद्भावपूर्ण समाज, सुशासन र स्थिर शासन दिन सक्ने सुदृढ लोकतान्त्रिक पद्धतिको पक्षमा मेलमिलाप खोजिरहेको छ । हाम्रो नेतृत्वले यस्तो हार्दिकतासहितको मेलमिलापको संस्कृति निर्माण गर्न सक्ला ?

Author

विपुल पोख्रेल