गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १६ गते । तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धि तामाङको निर्माण रहने चलचित्र ‘कुस्ती’ घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रको सार्वजनिक पोस्टरमा धीरज मगर र मिरुना मगर देखिनुभएको छ । फिल्ममा धीरज र मिरुनासँगै बुद्धि तामाङको पनि अभिनय रहने छ ।
अनुशा सिनेमावुड पिक्चर्स प्रालिको ब्यानरमा बन्ने चलचित्र ‘कुस्ती’ मा सम्बन्धमा रहेको एक जोडीको प्रेमकथा देखाइने निर्देशक योञ्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरू एकअर्कालाई धेरै माया गर्छन् तर आआफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाइको सामना गरिरहेका छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहने छ ।”
कलाकार बुद्धि तामाङले कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “म यसै क्षेत्रमा छु । यस पटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताका रूपमा अगाडि आएको छु । यस पटक सबैको साथ र सहयोगले यो यात्रा सफल हुनेमा विश्वस्त छु । हामी फिल्मको विषयमा अन्य जानकारी र टिमको परिचय विस्तारै दिने छौँ ।”
उहाँले छुट्टिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेमकथा हो ‘कुस्ती’ रहेको बताउनुभयो । काठमाडौँ रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्ट, मोफसल एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुने छ ।