शिवा तामाङ
काठमाडौँ, पुस १६ गते । खाली सिसीभित्र कला । सुन्दा अनौठो लाग्छ तर पाटन मङ्गलबजारका विभूषण ताम्राकारले बोतलभित्र विभिन्न कलाकृति निर्माण गर्नुभएको छ ।
सानैदेखि कलामा नयाँ काम गरेर आफूलाई परिचित गराउने इच्छा उहाँमा थियो । त्यसैले उहाँले आफूलाई ‘बोतल कलाकार’ का रूपमा परिचित गराउनुभएको छ । उहाँले खाली बोतलभित्र विविध सांस्कृतिक, पुरातात्त्विक सम्पदा बनाउनुभएको छ । पौभा, काठ, माटोलगायतका मूर्ति बनाउन पनि कलाकार विभूषण सिपालु हुनुहुन्छ । यसै गरी उहाँले बोतलभित्र सिंहदरबार, जानकी मन्दिर, पाटनको कृष्णमन्दिर, घण्टाघर, रानीपोखरीबिचको मन्दिरलगायतका धार्मिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वका सम्पदा बनाउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र हस्तकला शिल्पकला विभागले सोमबारदेखि उहाँको बोतल कलाको एकल चित्रकला प्रदर्शनी आयोजना गरेको हो । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले उद्घाटन गर्नुभएको कलाकार ताम्राकारको एकल चित्रकला प्रदर्शनीमा राखिएका बोतल कलामा बिजुली बत्तीको बल्ब, खाली सिसीमा नेपालका चर्चित मठमन्दिर, दरबार, पानीजहाज, गाउँघरका घर, बङ्गलालगायतका कलाकृति राखिएका छन् ।
उपसभामुख रानामगरले भन्नुभयो, “नेपालमा प्रतिभाका धनी र मेहनती थुप्रै कलाकार छन्, उनीहरूले आफ्नोतर्फबाट काम गरिरहेका हुन्छन्, मात्रै हौसला र प्रतिभा प्रस्फुटनका लागि मञ्च र अवसरको खाँचो छ । यसप्रति सरोकारवाला निकायले चासो देखाउँदै कलाको प्रवर्धनमा साथ दिनु पर्छ ।” ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले बोतलभित्र कलाकृति बनाउने कलाकारिता विदेशमा केही छन् भने नेपालमा कलाकार विभूषण ताम्राकार नै रहेका र उहाँको सिर्जनाको सम्मान हुनु पर्छ भन्नुभयो ।
समसामयिक चित्रकला विभाग प्रमुख प्राज्ञ सञ्जय बान्तावाले कलाकार ताम्राकारसँग ललितकला क्याम्पसमा अध्ययन गर्दादेखि नै सङ्गत गर्ने अवसर पाएको र त्यतिबेला नै बोतलभित्र चित्रकला बनाउने नयाँ विधामा काम गर्दै आएकोमा प्रतिष्ठानले उहाँको हौसला बढाउन साथ दिएको विचार व्यक्त गर्नुभयो । त्यसै गरी हस्तकला विभाग प्रमुख प्राज्ञ अरुणा हिङ्माङले नौलो विधामा निरन्तर काम गरिरहेका कलाकार ताम्राकारको मेहनतले छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो ।
पाटनका हरेक टोलमा तामा, पित्तल, काठ, माटो प्रयोग गरी मूर्तिकला, चित्रकला, सजाउने, उपहार दिने विविध सामग्री बन्छन् । कलाको सहरका रूपमा पहिचान बनाएको पाटनमै जन्मिने हुर्किने अवसर र उहाँभित्रको प्रतिभाले कला क्षेत्रमा कलाकार ताम्राकारले छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । उहाँले भन्नुभयो, “स्कुल पढ्दादेखि नै पढाइका साथै खेलकुदलगायतका अतिरिक्त क्रियाकलापमा रुचि थियो । सानैदेखि असम्भव काम केही पनि छैन जस्तो लाग्ने, त्यही आत्मविश्वासले खाली बोतलभित्र कलाकृति बनाउन थालेँ । १४ वर्षको उमेरदेखि बोतल र कलामा संलग्न छु ।” कलाकार ताम्राकारले करिब ३६ वर्षदेखि बनाउँदै सङ्कलन गर्नुभएको बोतल कलाको प्रदर्शनी शुक्रबारसम्म चल्ने छ ।