अमरगढी समाचारदाता
डडेलधुरा, पुस १६ गते । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले औद्योगिक क्षेत्रमा लगानी गर्न विदेशी कम्पनीलाई निमन्त्रणा गरिएको बताउनुभएको छ । रोजगारीका अवसर र उत्पादन बढाउन निजीलगायत विदेशी कम्पनीलाई निमन्त्रणा गरिएको उहाँले बताउनुभयो ।
सोमबारदेखि परशुरामधाममा सुरु भएको प्रथम सुदूरपश्चिम मेयर फोरम २०८१ मा उहाँले स्थानीय तहले आम्दानीका स्रोत पहिल्याई युवालाई स्थानीयस्तरमै रोजगारीका अवसर दिनुपर्ने बताउनुभयो । परशुराम नगरपालिकाको आयोजनामा वडा नम्बर ५ स्थित महाकाली नदी किनारमा अवस्थित परशुरामधाममा सञ्चालन भएको मेयर फोरमले नगरपालिका र गाउँपालिकाले गरेका राम्रा अभ्यास र समस्या, चुनौतीका सवालमा भोगाइ आदानप्रदान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशका स्थानीय तहले गरेका असल अभ्यासको आदानप्रदान, समस्या चुनौतीसँग एक भएर जुध्न मेयर फोरमको आयोजना गरिएको परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले बताउनुभयो । यस प्रदेशका सबै स्थानीय प्रमुखलाई निमन्त्रणा दिएर एकै ठाउँमा बसेर संवाद गर्ने उद्देश्यले मेयर फोरमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
संविधानविद् काशीराज दाहालले संविधानको मर्म अनुरूप सङ्घीयता अघि नबढेको बताउँदै राजस्व बाँडफाँटमा विभेद गरिँदै आएको बताउनुभयो । ७० प्रतिशत राजस्व सङ्घीयता सरकारले राख्ने र ३० प्रतिशत मात्रै स्थानीय तहलाई दिइनु सङ्घीयता भनिए पनि पूर्ण रूपमा कार्यान्वयन नभएको उहाँले बताउनुभयो ।
मेयर फोरममा सुदूरको सम्भावनाबारे संवादमा लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बहस गर्नुभएको छ ।