• १८ पुस २०८१, बिहिबार

७८ जनामा सिकलसेल एनिमिया पोजिटिभ

blog

सिकलसेल एनिमिया परीक्षणका लागि रगत दिँदै किशोरी । तस्बिरः लीलाधर वली

लीलाधर वली

घोराही, पुस १५ गते । लमही नगरपालिकाको तीन वडाका ७८ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको छ । लमही नगरपालिका –८ सतबरिया स्वास्थ्यचौकीमा गरिएको निःशुल्क सिकलसेल एनिमिया जाँच शिविरमा स्क्रिनिङ गर्दा सो संख्यामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको हो । 

ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना, लमही नगरपालिकाको समन्वय तथा आत्मनिर्भर लुघवित्त वित्तीय संस्था लिमिटेडको सहकार्य एवम् मेट लाईफ नेपालको सहयोगमा सोमबार गरिएको निःशुल्क सिकलसेल एनिमिया जाँचसम्बन्धी शिविरमा परीक्षणका लागि ५ सय ७८ जनाको रगत स्क्रिनिङ गरिएको थियो । 

स्क्रिनिङ गरिएकामध्ये १३ दशमलव ५८ प्रतिशतमा सिकलसेल एनिमिया देखिएको हो । सिकलसेल एनिमिया जाँच शिविरमा लमही नगरपालिका वडा ७, ८ र ९ का स्थानीय चौधरी, मगर, क्षेत्रीलगायतका समुदायका नागरिकको सहभागीता रहेको थियो । 

स्क्रिनिङ गर्दा धेरैमा सिलकसेल पोजिटिभ देखिएकाले डिजिज वा ट्रेट पहिचान गरी उपचारमा सहजता ल्याउन पहल गरिने ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले जानकारी दिनुभयो । 

स्क्रिनिङ गर्दा पोजिटिभ देखिएकोहरुको वाहक वा संक्रमित कुन हो अवस्था पत्ता लगाउन थप परीक्षणको काम अघि बढाइने अध्यक्ष चौधरीले बताउनुभयो । निःशुल्क शिविरको उद्घाटन गर्दै लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले रोग लुकाएर बस्न नहुने भन्दै आफ्नो र आउने पुस्ताका लागि स्वास्थ्य परीक्षण अनिवार्य भएको बताउनुभयो । 

सिकलसेल रोगकै कारण आर्थिक अवस्था कमजोर हुने परिस्थिति नहोस् भन्ने उद्देश्यसाथ सहयोगी संस्थाहरुको सहकार्यमा गरिएको शिविरले पालिकाको स्वास्थ्य सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरेको बताउनुभयो । 

अवस्था पहिचान गरी रोगको उपचारमा सहयोग गर्न र रोग पालेर अरुमा सार्ने अवस्थाको अन्त्य गर्न शिविरले सहयोग गर्ने लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बताउनुभयो ।