लिलाधर वली
घोराही, पुस १५ गते। नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले कसैलाई चित्त नबुझ्दैमा वर्तमान सरकार ढल्छ भनेर अफवाह फैलाउनु गलत भएको बताउनुभएको छ ।
नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग दाङले सोमबार घोराहीमा नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय पार्षद्, प्रदेश पार्षद् तथा सदस्यहरूलाई सम्मान एवं बधाई ज्ञापन कार्यकमललाई सम्बोधन गर्दै महासचिव पोख्रेलले निश्चित उद्देश्य पूरा गर्नका लागि बनेको गठबन्धन वर्तमान गठबन्धन नढल्ने बताउनुभएको हो । पोख्रेलले सरकारमा सहभागी दुई प्रमुख पार्टी काँग्रेस र एमालेलाई असफल हुने छुट नरहेको बताउनुभयो ।
अस्थिरताको हौवाबाट तर्सिनुपर्ने अवस्था नरहेको भन्दै महासचिव पोख्रेलले सरकारमा रहेका दुई दल चुनौतीको सामना गर्ने गरी गतिलो गृहकार्य गरेर अघि बढिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, संकट समाधान गर्न संवेदनशील छन् । संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउँछौँ ।
सरकारले लगानीको वातावरण निर्माण गर्ने गरी भूमिका बढाएको बताउँदै लगानी गर्न नडराउन समेत लगानीकर्तालाई आग्रह गर्नुभयो ।
महासचिव पोख्रेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको बताउदै भन्नुभयो, विगतको तुलनामा अहिले धेरै सुधार भएको छ । विगतमा भन्दा १७ प्रतिशतले राजश्व सङ्कलन बढेको हो । पुँजीगत खर्च बढेको छ । दुई महिना भित्र सबै भुक्तानीको दायित्व तिर्नुपर्ने बाटोमा सरकार जादै छ । मौद्रिक तरलतालाई व्यवस्थित गर्नुपर्ने छ ।झ
परिस्थिति परिपक्व नहुँदासम्म संविधान संशोधनको काम अघि नबढ्ने बताउनुभयो विगतमा जुन अवस्था रह्यो । त्यस्तो अवस्था आउन नदिने गरी संविधान संशोधनको प्रक्रिया अघि बढाउछौं , महासचिव पोख्रेलले भन्नुभयो, तीन तहका सरकारको कामलाई प्रभावकारी बनाउने गरी संरचना सुधार, अधिकारमा स्पष्टता र कानुन सुधार गरेर जान सक्ने बारेमा समेत गृहकार्य गरिरहेका छौँ । यस्तै नयाँ भन्ने बित्तिकै विकल्प हुन नसक्ने भन्दै महासचिव पोख्रेलले राजनीति घाम छाँया नरहेको स्पष्ट पार्नुभयो ।
महासचिव पोख्रेलले संस्थागत पत्रकारिता कमजोर हुँदा सामाजिक सञ्जाललाई पत्रकारिता मान्ने जमात बढ्न थालेको प्रति चिन्ता व्यक्त गर्नुभएको थियो । संस्थागत पत्रकारिता कमजोर हुँदा अराजकता र स्वच्छन्दतावाद हाबी बढेको भन्दै महासचिव पोख्रेलले भन्नुभयो, तथ्यहिन, भ्रामक र नियोजित चिज बढी खोजिन थाल्यो । संस्थागत पत्रकारितालाई बलियो बनाउने गरी नयाँ बहस सुरु गर्नुपर्छ । सोसल मिडिया चलाएर पत्रकार भन्ने गलत अभ्यास हुनु हुँदैन, यो राम्रो होइन ।