• २१ पुस २०८१, आइतबार

भूकम्पपीडितको त्रासको बास

blog

पुनर्निर्माणको काम नहुँदा अस्थायी आवासमा बसेका जाजरकोटका भूकम्पपीडित ।

वासुदेव शर्मा 

जाजरकोट, पुस १५ गते ।  जाजरकोटका भूकम्पपीडित चर्किएका घरमा डरमै बस्न बाध्य छन् । पुनर्निर्माणको कामले गति लिन नसकेपछि पीडित चर्किएका घरमा डरत्रासमै बस्न बाध्य भएका हुन् । 

गत वर्ष कात्तिक १७ गते गएको भूकम्पबाट जनधनको क्षति बेहोरेका पीडितले निजी घर निर्माण गर्न नसकेपछि चर्किएका घरमै बसेका छन् । घर क्षतिग्रस्त भएपछि आवासविहीनहरू टहरामुनि बसेको एक वर्ष बित्दा पनि सरकारले पुनर्निर्माणको काम अघि बढाउन नसक्दा कोही ऋणको भारी बोकेर बास बनाउन थालेका छन् भने कोही जीर्ण घरमै बस्न थालेका छन् । 

भेरी नगरपालिका–१३ का कुमार गिरीका अनुसार सरकारले भूकम्पपीडितका लागि घोषणा गरेको रकम आउला र घर बनाउँला भनेर अस्थायी टहरामा बसे पनि रकम नआएपछि टहरामै बस्नु परेको छ । सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न दिने भनेको दोस्रो किस्ता स्थानीय तहले झन्झटिलो प्रक्रिया बनाएपछि आवासको पर्खाइमा बस्दा १४ महिना बितेको र दोस्रो किस्ताको रकम पाउन पनि मुस्किल भएको उहाँले बताउनुभयो ।

सरकारले घर बनाइदेला र बसौँला भन्दै १४ महिला बित्यो भन्दै उहाँले पुनर्निर्माणको काम सुरु नभएपछि श्रम रोजगारीबाट जीविकोपार्जन गरे पनि ऋण काढेर घर बनाउन थालेको जनाउनुभयो । अस्थायी टहराको बासमा दैनिक जीवन गुजारा गर्न तथा चिसो बढ्दै गएपछि सकस हुन थालेको उहाँको भनाइ छ । 

भेरी नगरपालिका–३ का हिटलरसिंह राठौरले सरकारबाट सहयोग पाएपछि बास बनाउँला भन्दै एक वर्ष बितेको र पुनर्निर्माणको काम थालनी हुन नसकेकोमा आक्रोश पोख्नुभयो । गत पुस ११ गते फेरि बारेकोटको नायकबाडा केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युटको भूकम्पले केही घरमा थप क्षति गरेको छ । अस्थायी टहरामा चिसोले बस्न नसकेका सर्वसाधारण भूकम्पले चर्किएका घरमा फेरि भूकम्प आउँछ कि भन्ने चिन्ताले रातभर जाग्राम बस्ने गरेका छन् । 

मङ्सिर, पुस महिनामा भूकम्पले धक्का दिन थालेपछि पीडित थप चिन्तित भएका छन् । पटक पटकको भूकम्पको पराकम्पले वृद्धवृद्धा, सुत्केरी, बालबालिका, अपाङ्गता भएका एवं विपन्न परिवार थप समस्यामा परेका छन् । भेरी नगरपालिका–४ का कैलाशसिंह खत्रीले डरत्रासमै चर्किएको घरमा बस्नु परेको भन्दै सरकारले जति सक्यो छिटो पुनर्निर्माणको कामलाई गति दिन माग गर्नुभयो । 

चर्किएका घरमा बस्दा थप दुर्घटना आउन सक्ने भन्दै उहाँले सरकारले दोस्रो किस्ताको रकम छिटो वितरण गर्न आग्रह गर्नुभयो । अस्थायी आवासमा बस्न सम्भव नभएपछि अहिले कोही भारततर्फ लागेका छन् भने कोही ऋण काढेर धमाधम घर बनाउन लागेका छन् ।