• २१ पुस २०८१, आइतबार

मर्मत भएन खच्चड फसेको पुल

blog

गत जेठ २७ गते अछामको पञ्चदेवल विनायक नगरपालिका–९ र दैलेखको आठबिस नगरपालिका–४, खिड्कीजिउला जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चड ।

कमल शर्मा  

दैलेख, पुस १५ गते । सात महिनाअघि पुलको लट्ठा चुँडिएर खच्चड फसेको कर्णाली नदीको झोलुङ्गे पुल अझै मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा स्थानीय जोखिमपूर्ण अवस्थाबाट ओहोरदोहोर गर्न बाध्य भएका छन् । 

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ र दैलेखको आठबिस नगरपालिका–४, खिड्कीजिउला जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा गत जेठ २७ गते १४ वटा खच्चड पुलको लट्ठा चुँडिएर फसेका थिए । पुलमा फसेका १४ वटा खच्चडको छ घण्टापछि स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । एउटा खच्चडको पुलमै र अर्को एकको नदीमा खसेर मृत्यु भएको थियो । 

त्यतिबेला तत्काल उक्त पुल मर्मत गर्ने वाचा गरेको भए पनि अहिलेसम्म कुनै पनि निकायले पुल मर्मत गरेका छैनन् । जसले गर्दा स्थानीयलाई निकै गाह्रो भएको आठबिस नगरपालिका–४ का भरत साउदले जानकारी दिनुभयो । उहाँले झन्डै दुई दशकअघि बनेको उक्त पुलको नियमित मर्मत नहुँदा जीर्ण बनेको बताउनुभयो । उहाँले पुलका लट्ठा चँुडिएर समयमा मर्मत नहुँदा खच्चड अड्केको उल्लेख गर्दै अहिलेसम्म पनि त्यसको मर्मत हुन नसकेको बताउनुभयो । 

झन् जीर्ण बने पनि मर्मत गर्न कसैको ध्यान नगएको खिड्कीजिउलाका बासिन्दा गणेश शाहीले बताउनुभयो । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ बाट ५० जना बालबालिका दैलेखको आठबिस नगरपालिका–४ मा रहेको न्यु भेरी कर्णाली मोडल स्कुलमा पढ्न आउने गरेका छन् । दैलेखको आठबिस नगरपालिका–४ बाट अछामको पञ्चदेवल विनायक नगरपालिका–९ मा रहेको चण्डिका माध्यमिक विद्यालयमा अध्ययन गर्न ११५ जना बालबालिका आवतजावत गर्ने पुल जीर्ण हुँदा बालबालिकाको पढाइमा समेत समस्या भएको भरत साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “जीर्ण भएको पुलनजिकै अर्को पुल भएका कारण आवतजावतमा समस्या नभए पनि छोटो दुरी भएकै कारण जीर्ण पुलबाट आवतजावत हुने गरेको छ ।” 

आठबिस नगरपालिका–४ का अम्मर माझीले  खिड्कीजिउला नजिकै अर्को झोलुङ्गे पुल भए पनि त्यसको नजिकै नैनेल देवताको मन्दिर रहेकाले सुत्केरी तथा छाउ (महिनावारी) भएका पनि त्यहाँबाट आवतजावत गर्न समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “महिनावारी भएकाले जोखिमपूर्ण पुल तर्नुपर्ने बाध्यता रहेको छ ।”

अछाम जिल्लाबाट विद्यालयमा पढाउने शिक्षिकासमेत त्यही देवताको डरले आउन समस्या हुने भएपछि विद्यालय नै छोडेको जानकारी उहाँले दिनुभयो । उहाँले विद्यालय आउने जाने छात्राले पनि महिनावारी हुँदा यही जीर्ण पुल प्रयोग गरेर विद्यालय जानुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुत्केरी तथा छाउ भएका त तलबाट जाँदैन थिए, अरूलाई पनि टाढा भएकाले धेरैले यही जीर्ण पुल प्रयोग गर्छन् ।” 

अछाम पञ्चदेवल विनायक नगरपालिका–९ का वडाध्यक्ष रामप्रसाद जैसीले पुल निर्माणका लागि विभिन्न निकायमा समन्वय गरेको भए पनि अहिलेसम्म पुल निर्माण हुन नसकेको बताउनुभयो । उहाँले नगरपालिकामा पुल निर्माण गर्ने जनशक्ति नभएका कारण नयाँ पुल निर्माणका लागि डिपिआर तयार गर्न नगरपालिकाले स्वीकृत प्रदान गरेको र डिपिआरपछि पुल बन्ने बताउनुभयो । 

दैलेख जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले खच्चड फसेर जीर्ण भएको पुल निर्माणका लागि सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरे पनि त्यसको कार्यान्वयन नभएको बताउनुभयो । उहाँले पुनः सरोकारवाला निकायलाई बोलाएर पुल निर्माणका लागि पहल गर्ने आश्वासन दिनुभयो ।