बैतडी समाचारदाता
बैतडी, पुस १५ गते ।
‘पाक्यो फल चरीले खायो, काँचो फल रुखै छ
जाँसम्म परानी चल्छ, वाँसम्म दुःखै छ’
सडक किनारमा रहेको एउटा सानो छाप्रोमाथि फाटेका जडौरा लुगा छन् । चिसो भुइँमा यिनै टालाटुली बिछ्याएर भोकै रात काट्न विवश छन् एक अपाङ्ग वृद्ध दम्पती र छोरी । माथिको देउडाको हरफ पाटन नगरपालिका–४, जेउडेको दलित बस्तीका धने लावडको परिवारसँग ठ्याक्कै मेल खान्छ । पुसको चिसो सिरेटो र झरीले जेउडेको लेक धुम्म परेको छ । खानेपानीको धारा, बिजुली र शौचालय त परको कुरा छाप्रोभित्र छाक टार्ने अन्नको गेडो नहुँदा धने लावडको मन पनि गुम्सिएको छ । मनको बह पोख्ने आफन्त कोही छैनन् । “भाग्यले जे दियो, त्यही खानु छ,” सिस्नोमा मकैको पिठो घोलेर छाक टार्दै आएको ६९ वर्षीय वृद्ध धने लावडले भन्नुभयो ।
छाप्रोमा बत्ती, पानीको धारा र शौचालय छैन । अपाङ्ग श्रीमतीलाई शौच गराउन बोकेर जङ्गलतिर लैजाने पीडा पनि उहाँसँग छ । लावड दम्पती आफूलाई केही भए छोरीको भविष्य के होला ? भन्ने चिन्तामा डुबेका छन् । अपाङ्ग श्रीमती र कक्षा ८ मा पढ्ने छोरीको भविष्य यिनै वृद्धको काँधमा छ । बिजुलीबत्ती नहुँदा रातबिरात छोरीलाई शौचालय जान समस्या हुने गरेको परिवारको गुनासो छ । वृद्ध दम्पती बेला बेला बिरामी भइरहन्छन् । चिसोले दम बढेपछि अस्पताल जाने खर्च नहुँदा उहाँहरू आँगनमा टोलाएर बस्नुभएको छ ।
वडा र नगरपालिकामा पहुँच नपुग्दा सरकारले दिने जनता आवास कार्यक्रमको सूचीमा पर्न नसकेको बालिकाकी अपाङ्ग आमा रोहिणी लावडले गुनासो गर्नुभयो । बिरामी दम्पतीको घरमा खाने अन्न नभएको खबर पाएपछि छिमेकी मानबहादुर चन्दले आइतबार चामल सङ्कलन गरेर सहयोग गर्नुभएको छ । उहाँले वृद्धलाई स्वास्थ्य चौकी जानसमेत सहयोग पुर्याउनुभएको छ । सिस्नोमा मकैको पिठो घोलेर खाँदै गरेको दृश्यले आँसु थाम्न नसकेपछि चामलको जोहो गरिदिएको चन्दले बताउनुभयो ।
“भाग्यमै यस्तै लेखिएको रहेछ,” आइतबार स्वास्थ्य चौकीबाट फर्किंदै गर्नुभएका बिरामी वृद्ध धने लावडले सुस्केरा हाल्दै भन्नुभयो, “बाबुसाहेबले चामल ल्याइदिएपछि आज चुलो बलेको छ । छोरी र अपाङ्ग श्रीमतीले धेरै दिनपछि भात खान पाएका छन् ।” स्वास्थ्य परीक्षण गर्न स्थानीय भुमेश्वर स्वास्थ्य चौकी पुगेका धनेलाई स्वास्थ्यकर्मीले चिसोका कारण ज्वरो आएकाले न्यानोमा बस्न सुझाव दिँदै सिटामोल खान दिएका छन् । हिजोअस्ति भएको हिउँदे बर्सातले छत चुहिएकाले कोठाको भुइँ चिसो भएको धनेले पीडा सुनाउनुभयो । भिजेको छाप्रोको भुइँमा सल्ली पिरोल ओछ्याएर त्यसैमाथि फाटेका पुराना कपडा ओछ्याएर रात काट्ने गरेको धनेकी अपाङ्ग श्रीमती रोहिणी लावडले बताउनुभयो ।