• २१ पुस २०८१, आइतबार

फेवातालमा चिनियाँ खेलको रौनक

blog

फडिन्द्र अधिकारी

लेखनाथ, पुस १५ गते । पर्यटन राजधानी पोखराको फेवातालमा आइतबार अनौठा डुङ्गा देखिए । ड्रागन आकारका ती डुङ्गा गत वर्ष र यसपालि पनि चीनबाट पोखरा ल्याइएको हो । चीनमा लोकप्रिय ड्रागन बोट रेस गत सालबाट पोखरामा आयोजना गर्न थालिएको छ । 

प्रतियोगितामा सहभागी हुन चीनबाट विमान चार्टड गरी १२९ खेलाडी पोखरा आएका छन् । आइतबार फेवातालमा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता–२०२४ युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सुरुवात गर्नुभयो । 

आइतबार दुई सय मिटर र पाँच सय मिटरतर्फ पहिलो चरणका खेल भएका छन् । दोस्रो संस्करणको यो प्रतियोगितामा २० समूहको सहभागिता छ । प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने ११ समूह, चीनका विभिन्न प्रान्तको प्रतिनिधित्व गर्ने आठ र सिङ्गापुरको एक समूह सहभागी छन् । 

सोमबार सेमिफाइनल र फाइनल चरणका खेल हुने छन् । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, वेगनास टोली, रूपाताल टोली र नेपाल र्‍याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित नेपालका ११ टोलीको सहभागिता छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डको आयोजनामा प्रतियोगिता भएको हो । नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र ओभरसिज चाइनिज एसोसिएसन पोखरा प्रतियोगिताका सहआयोजक छन् ।

कार्यक्रममा मन्त्री चौधरीले यस्ता प्रतियोगिताले पर्यटन प्रवर्धनमा मात्रै नभई नेपाली र चिनियाँ नागरिकबिच सुमधुर सम्बन्ध कायम गर्नसमेत सघाउने विचार राख्नुभयो । “खेलकुदले देश र समुदायलाई एकताको सूत्रमा बाँध्छ,” उहाँले भन्नुभयो । यो प्रतियोगिताले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थप्ने र पोखरामा वाटर स्पोटर््सका नयाँ सम्भावना खोज्न सघाउने पोखरा महानगरका प्रमुख धनराज आचार्यको भनाइ छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले यस खालका प्रतियोगितालाई प्रदेश सरकारले पनि सघाउँदै आएको उल्लेख गर्नुभयो ।