गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १५ गते । साङ्गीतिक समूह कन्दराले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को दिन नयाँ गीत ‘हुने छ : दी सङ्ग अफ होप’ सार्वजनिक गर्ने भएको छ ।
गीतको शब्द तथा सङ्गीत ब्यान्डका ड्रमवादक सुनील थापाले तयार गर्नुभएको हो । गीतलाई आशा र प्रेरणा दिने सन्देशका रूपमा प्रस्तुत गर्न लागिएको छ । देशमा सकारात्मक परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले आफ्ना सोच, व्यवहार र आचरणमा सुधार गर्नुपर्ने विचारलाई यो गीतले जोड दिएको गायक विवेक श्रेष्ठले जानकारी दिनुभयो ।
कन्दराको गायनमा विवेक श्रेष्ठ, ड्रम्समा सुनील थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा हुनुहुन्छ । ड्रम्समा रहनुभएका थापा ब्यान्डको स्थापना कालदेखिका सदस्य हुनुहुन्छ । सार्वजनिक तयारीमा रहेको गीतले विश्वभर फैलिएर रहेका नेपालीमा सकारात्मक ऊर्जासँगै मेलोडी र मिठासको साङ्गीतिक पहिचानलाई थप बलियो बनाउने विश्वास गरिएको गायक श्रेष्ठले बताउनुभयो ।
कन्दराले सन् २०२५ मा संसारका विभिन्न देशमा छरिएका रहेका नेपालीबिच साङ्गीतिक प्रस्तुति पनि गर्ने भएको छ । ब्यान्डले जनवरी ४ मा आफ्नो साङ्गीतिक यात्राको पहिलो प्रस्तुति संयुक्त अधिराज्य लन्डनस्थित दी ओटुबाट सुरु गर्ने छ । गायक श्रेष्ठले लन्डनपछि जनवरीमै दुबई, कतार र हङकङमा कन्सर्ट गर्ने जानकारी दिनुभयो । लन्डनस्थित ओटु युरोपका विभिन्न सहरबाट श्रोताहरू आफूलाई मन परेका सङ्गीत सर्जकलाई प्रत्यक्ष हेर्न र सुन्न आउने चर्चित थलो हो ।