• २१ पुस २०८१, आइतबार

राँको बालेर मनाइयो भुओ पर्व

blog

हुम्ला समाचारदाता

हुम्ला, पुस १५ गते ।  हुम्लामा रातभर सल्लाको दियालोको राँको बालेर भुओ पर्व मनाइएको छ । आइतबार रातिबाट राँको बालेर सार्वजनिक स्थानमा जम्मा भएका स्थानीयले हातमा राँको बालेर भुओ पर्व मनाइएको ठेहे गाउँका कालीबहादुर बोहोराले बताउनुभयो । 

स्नानीय पर्वका रूपमा रहेको यो पर्वमा प्रत्येक घरबाट सल्लाको दियालो बालेर गाउँको सार्वजनिक स्थानमा जम्मा भई गीत गाउने र पछि कुटुम्बकी छोरीचेलीको घरमा गएर पानी माग्ने चलन रहेको छ । मानसरोवर कविलासबाट सुरु भएको भुओ सिमकोटसम्म कसरी पुगेको हो भन्ने कुरा गीतमार्फत आउने गर्छ । कुटुम्बकी छोरीचेलीले भुओ मनाउने युवालाई चिसो पानी छर्कने चलन छ । बाजागाजासहित चिसो पानीले भिजेका युवा पछि राँको बालेर घर घरबाट दाउरा जम्मा गरिएको भोखाडामा गएर आगो बालेर रातभर बस्छन् । 

पर्व मनाउँदा गाउँमा भुतप्रेतको डर हट्ने सामाजिक मान्यता पनि रहेको छ । रातभर भुओ मनाएका युवा बिहान चिसो पानीमा नुहाएर आफन्त तथा मान्यजनको घरमा पुगेर ढोगभेट गर्छन् । यसरी ढोगभेट गर्न आउनेलाई सेलरोटी, मासुका परिकार खुवाउने गरिन्छ । भुओ पर्वको अर्को दिन छोरीचेलीलाई माइतीमा खाना खुवाउने चलन छ । यो पर्वमा मासुका परिकार खानैपर्ने बाध्यता रहेको छ । यो पर्व जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा मनाइन्छ ।