• २६ असार २०८२, बिहिबार

कफी हब बनाउन पहल

blog

फाइल तस्बिर ।

बिजुवार समाचारदाता

बिजुवार, पुस १५ गते । लुम्बिनी प्रदेश सरकारले पहाडी जिल्लालाई कफी हबका रूपमा विकास गर्न पहल सुरु गरेको छ । 

प्युठानको सरुमारानी गाउँपालिका बड्डाँडामा रहेको चिया तथा कफी विकास कार्यालय, स्थानीय जनप्रतिनिधि तथा किसानसँग प्रदेशका पहाडी जिल्लामा कफी खेतीको सम्भावना धेरै भएकाले कफी हब बनाउनेबारे छलफल गरिएको हो ।

पहाडी जिल्लामा कफी खेती सम्भावना रहेको र प्रदेश सरकारले यसका लागि पहल गर्ने कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले बताउनुभयो । उहाँले पहाडी जिल्लामा कफी खेतीको सम्भावना, बजार र किसानको जीवनस्तर उठाउनेबारे सरकारले ध्यान दिने बताउनुभयो ।

मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउतले कफी बोर्डको कार्यालय प्युठानमा रहेको र त्यसले तीन वटा प्रदेश हेर्ने भएकाले कफी खेतीलाई लुम्बिनी प्रदेशका जिल्लामा विस्तार गर्नेबारे छलफल सकारात्मक भएको बताउनुभयो । उहाँले पहाडको एउटा जिल्लामा कम्तीमा १० रोपनीका दरले छ वटा जिल्लामा यसलाई विस्तार गर्नेबारे कुरा अघि बढेको जानकारी दिनुभयो ।

कफी खेतीबाट किसानले राम्रो आम्दानी लिन सक्ने, यसको उत्पादन बढाउन सके अन्तर्राष्ट्रिय बजार पनि राम्रो भएकाले यसमा किसानलाई अनिवार्य जोड्नेबारे पहल गरिएको हो । 

सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले आफ्नो पालिका दलहन बाली तथा मह उत्पादनको हबका रूपमा रहेको र अझ गुणस्तरीय उत्पादनका लागि प्रदेश सरकारको साथ सहयोग चाहिएको बताउनुभयो । 

चिया तथा कफी विकास कार्यालय बड्डाँडाका प्रमुख चन्द्रप्रकाश बस्नेतले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तीन वटा प्रदेश हेर्ने गरी २०७२ सालमा कार्यालय स्थापना भएको जानकारी दिनुभयो । बजेट र जनशक्ति अभाव भोग्नु परेको समस्या राख्दै उहाँले कफी खेती विस्तारका लागि प्रदेश र स्थानीय सरकारको साथ आवश्यक पर्ने बताउनुभयो ।