रुकुमपूर्व समाचारदाता
रुकुमपूर्व, पुस १५ गते । रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ का कमलाल खड्काले मौरीपालन गर्न थालेको नौ वर्ष भयो । १० वटा घारबाट मौरीपालन सुरु गर्नुभएका खड्काको घरमा हाल १२३ वटा मौरीका गोला छन् । सोही घारबाट यस सिजनमा ९० धार्नी मह उत्पादन भयो ।
उत्पादित मह पनि बिक्री भइसकेको छ । प्रतिधार्नी तीन हजार रुपियाँका दरले यो सिजनको महबाट खड्काले दुई लाख ७० हजार रुपियाँ आम्दानी गर्नुभएको छ तर गत वर्षभन्दा यस वर्ष भने मह उत्पादन घटेको उहाँले बताउनुभयो ।
गत वर्ष उहाँले ७० वटा घारबाट २१५ धार्नी मह उत्पादन गर्नुभएको थियो । उक्त वर्ष मह बिक्रीबाट छ लाख ४० हजार रुपियाँ आम्दानी भएको थियो । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा ६० प्रतिशतसम्म कमी आएको मौरीपालक कृषकको भनाइ छ ।
खड्काले महको माग धान्न मुस्किल भएको बताउनुभयो । मह उत्पादन घटेका कारण ग्राहकलाई माग अनुसार मह पु¥याउन नसकिएको उहाँले बताउनुभयो ।
ओमप्रकाश खड्का पनि सोही वडाका पुराना मौरीपालक कृषक हुनुहुन्छ । उहाँसँग हाल १५१ वटा मौरीका घार छन् । ती घारबाट यस सिजनमा ओमप्रकाशले १२५ धार्नी मह उत्पादन गर्नुभयो । उत्पादित मह बिक्रीबाट तीन लाख ७५ हजार रुपियाँ आम्दानी भएको छ । २०५५ सालदेखि मौरीपालन सुरु गर्नुभएका ओमप्रकाशको पनि यस वर्ष मह उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस वर्ष आधाभन्दा बढी मह उत्पादनमा कमी आएको हो ।
गत वर्ष १४५ वटा मौरीका घारबाट २९७ धार्नी मह उत्पादन भएको थियो । सोही वर्ष उत्पादित मह बेचेर ११ लाख ९१ हजार रुपियाँ आम्दानी गरेको ओमप्रकाशले बताउनुभयो । यस वर्षको यो सिजनमा कमलाल र ओमप्रकाशको मात्र नभई जिल्लाका अधिकांश मौरीपालक कृषकको मह उत्पादन घटेको छ ।
चिउरीको फूल फुल्ने समयमा पानी परेका कारण मह उत्पादनमा कमी आएको मौरीपालक कृषकले बताएका छन् । कात्तिकदेखि मह निकाल्न सुरु गरिन्छ । अधिकांश कृषकले मह निकालिसकेका छन् । तीन स्थानीय तह रहेको यस जिल्लामा सबैभन्दा बढी सिस्ने गाउँपालिकामा मह उत्पादन हुने गरेको छ । यस पालिकाका प्रायः सर्वसाधारणले मौरीपालन गर्ने गरेका छन् ।
भुमे र पुथाउत्तरगङ्गा गाउँपालिकामा सिस्नेको तुलनामा मौरीपालन कम हुन्छ । केही वर्षयता प्रतिधार्नी तीन हजार रुपियाँका दरले मह बिक्री हुँदै आएको छ । मह बिक्री गरेर यस क्षेत्रका कृषकले राम्रो आम्दानी गर्ने गरेका छन् ।
प्रतिकूल मौसमका कारण गत वर्षभन्दा यस वर्षको सिजनमा मह उत्पादन घटेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुमपूर्वका प्रमुख डिल्लीराज पौडेलले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, “गत वर्षभन्दा यस वर्ष करिब ६० प्रतिशतले मह उत्पादनमा गिरावट आएको छ ।”