गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १५ गते । बिमा कम्पनीले कार्यालय तथा व्यावसायिक प्रयोजनका लागि घरजग्गा खरिद तथा निर्माण गर्दा प्राधिकरणबाट सैद्धान्तिक तथा अन्तिम स्वीकृति लिनुपर्ने भएको छ । नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीको कार्यालय प्रयोजनका लागि घरजग्गा खरिदमा कडाइ गर्न लागेको हो ।
कम्पनीका सञ्चालक तथा व्यवस्थापकले निहित लाभका लागि कम्पनी प्रयोजनका नाममा जथाभाबी घरजग्गा किन्ने प्रवृत्ति नियन्त्रण गर्न प्राधिकरणले नयाँ व्यवस्था गर्न लागेको हो ।
प्राधिकरणले जीवन, निर्जीवन, लघु तथा पुनर्बिमकहरूका लागि ‘बिमकको स्थिर सम्पत्तिसम्बन्धी निर्देशन २०८१’ को मसौदा राय सुझावका लागि सार्वजनिक गरेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको निर्देशनमा बिमा कम्पनीले घरजग्गा खरिद, निर्माण गर्नुपूर्व प्राधिकरणबाट सैद्धान्तिक तथा अन्तिम स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । घरजग्गाबाहेकका अन्य सम्पत्ति खरिद गर्नका लागि भने प्राधिकरणको अनुमति लिनु नपर्ने निर्देशनमा उल्लेख छ ।