गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १५ गते । काठमाडौँ महानगरपालिकाका प्रथम प्रमुख प्रेमलाल (पिएल) सिंहको सालिक निर्माण हुने भएको छ । राजधानीमा आइतबार आयोजित महानगरपालिकाको १६ औँ अधिवेशनमा नगरप्रमुख बालेन साह ‘बालेन्द्र’ ले सिंहको पूर्ण कदको सालिक राष्ट्रिय सभा गृह परिसरमा निर्माण गर्ने घोषणा गर्नुभयो ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहको प्राङ्गणमा महानगरपालिकाका प्रथम प्रमुख सिंहको पूर्ण कदको सालिक निर्माण गर्ने निर्णय गरिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाको आइतबार बिहान बसेको कार्यपालिका बैठकले काठमाडौँलाई देशकै पहिलो महानगरपालिका घोषणा गराउन गर्र्नुभएको योगदानको कदर गर्दै सिंहको सालिक बनाउने निर्णय गरिएको प्रवक्ता मानन्धरले स्पष्ट पार्नुभयो । बैठकको निर्णयपछि नगरप्रमुख साहले सो घोषणा गर्नुभएको हो ।
त्यसै गरी स्थानीय स्वायत्त शासन ऐन–२०५५ जारी हुनुमा सिंहको महत्वपूर्ण भूमिका रहेको कार्यपालिका बैठकको ठहर रहेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो । विक्रम संवत् १९९६ साल चैत ११ गते जन्मनुभएका सिंहको गत पुस १ गते निधन भएको थियो । मुलुकमा प्रजातन्त्र पुनस्र्थापनापछि भएको स्थानीय निर्वाचनबाट उहाँ काठमाडौँ महानगरपालिकाको पहिलो प्रमुखका रूपमा निर्वाचित हुनुभएको थियो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर उहाँ काठमाडौँ महानगरपालिकाको प्रमुख बन्नुभएको थियो ।
महानगरको खर्च चार अर्ब
नगर सभाको अधिवेशनमा उपप्रमुख सुनीता डङ्गोलले काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष (२०८१/८२) को पुस ११ गतेसम्म कुल बजेटमध्ये चार अर्ब एक करोड चार लाख ५६ हजार रुपियाँ खर्च भएको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा महानगरको कुल विनियोजित बजेट २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपियाँ रहेको छ ।
त्यसै गरी चालु आर्थिक वर्षमा महानगरको राजस्व सङ्कलन १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपियाँको लक्ष्य रहेकोमा अहिलेसम्म कुल चार अर्ब नौ करोड ८९ लाख ३६ हजार रुपियाँ सङ्कलन भएको उपप्रमुख डङ्गोलले जानकारी दिनुभयो ।