• २३ पुस २०८१, मङ्गलबार

सहकार्य गर्न छलफल

blog

गोरखापत्र संस्थान र राष्ट्रिय सूचना आयोगका पदाधिकारी छलफलपछि सामूहिक तस्बिरमा । तस्बिर : शेखर चौलागाई

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १५ गते ।  राष्ट्रिय सूचना आयोग र गोरखापत्र संस्थानबिचको सहकार्यलाई प्रभावकारी बनाउन आयोग र संस्थानका पदाधिकारीले जोड दिएका छन् । आयोग र संस्थानका पदाधिकारीबिचको भेटघाटमा द्विपक्षीय सहकार्य बढाउन जोड दिइएको हो । 

संस्थानको कार्यालयमा आइतबार बिहान भएको भेटघाटमा आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यले पछिल्लो समय संस्थानबाट प्रकाशन हुने पत्रपत्रिका तथा डिजिटल प्रकाशनको सामग्रीमा सुधार हुँदै गएको बताउनुभयो । उहाँले गोरखापत्र आफैँमा नेपाली पत्रकारिताको इतिहास बोकेको सञ्चार गृह भएकाले आयोगले संस्थानसँग सहकार्य गर्ने बताउनुभयो । 

प्रमुख आयुक्त आचार्यले सूचनाको हकबाट सञ्चारकर्मी मात्र नभएर सर्वसाधारण नागरिक पनि लाभान्वित हुन पाउने अवस्था निर्माण गर्न साझा प्रयास हुनुपर्ने बताउनुभयो । सो अवसरमा आयोगका आयुक्त गगन विष्टले सूचनाको हकको कार्यान्वयनमा राज्यको मिडिया गोरखापत्रको भूमिका महत्वपूर्ण हुने जिकिर गर्नुभयो । छलफलमा अर्का आयुक्त दुर्गा भण्डारीले आपसी सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो । 

संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सूचना आयोगसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले परम्पराको निरन्तरताभन्दा सिर्जनात्मक ढङ्गले सहकार्य हुनुपर्ने तर्क गर्नुभयो । गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईले सूचनाको हकको प्रभावकारी कार्यान्वयनले सूचना प्राप्तिमा सहज हुने धारणा व्यक्त गर्नुभयो ।