• २१ पुस २०८१, आइतबार

नगरप्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उहाँहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को मुद्दा पनि दायर गरिएको छ । आयोगले आइतबार विशेष अदालत काठमाडौँमा यो मुद्दा दायर गरेको हो । पदीय दुरुपयोग गरी व्यवसायी राजुप्रसाद कँडेलसँगको मिलेमतोमा घुस तथा रिसवत लिएको र घुसबापत लिएको सम्पत्ति बिक्री गरेर सम्पत्ति शुद्धीकरण गरेको आरोप तिनै जना प्रतिवादीमाथि लगाइएको छ । 

आयोगले बस्नेतसँगै निजकी श्रीमती उर्मिला बस्नेत तथा व्यवसायी कँडेलविरुद्ध पनि दुवै प्रकृतिको मुद्दा दायर गरेको छ । नगरप्रमुख बस्नेतले पदीय ओहदाको दुरुपयोग गरी नागार्जुन नगरपालिकामै कार्यक्षेत्र रहेको पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि, जगतगुरु कृपालु प्रतिष्ठान नेपालका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट घुस/रिसवत लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको दाबी गरेको छ । 

नगरपालिकाभित्र रहेको पद्मा मर्चेन्ट प्रालिसँगै गैरकानुनी रूपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बेचेर सम्पत्ति शुद्धीकरण गरेको आरोप बस्नेतलाई लागेको छ । आयोगका अनुसार ४७ करोड ७५ लाख रुपियाँ पर्ने जग्गा बस्नेतले पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपियाँमा उपलब्ध गराउनुभएको थियो । त्यसबापत कँडेल र उहाँको कम्पनीलाई साढे २५ करोड रुपियाँ लाभ भएको आयोगको आरोपपत्रमा उल्लेख छ । 

आयोगले तिनै जनाविरुद्ध नौ करोड २२ लाख छयालिस हजार बत्तिस रुपियाँ तेत्तिस पैसा बिगो र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरेको छ । साथै तिनै जनालाई सम्पत्ति शुद्धीकरण गरेको कसुरमा थप सजायको पनि माग गरेको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा तिनै जनालाई थप १३ करोड १२ लाख ७३ हजार ३२ रुपियाँ बिगो कायम गरिएको छ । 

आयोगले बस्नेतकी श्रीमती उर्मिलालाई सम्पत्ति शुद्धीकरणमा मतियार बनेको तथा कँडेलले सम्पत्ति शुद्धीकरणमा सहजीकरण गरेको अभियोग लगाएको छ । नगरप्रमुख बस्नेत र उहाँकी श्रीमती उर्मिला बस्नेतले घुस रिसवतबापत प्राप्त गरेको सम्पत्ति तथा जग्गा बिक्रीवितरण गरी कर्जा भुक्तानीसमेत गरेको तथा विभिन्न व्यक्तिलाई भुक्तानी गरेको अनुसन्धानबाट सङ्कलित सबुत प्रमाणबाट पुष्टि भएको देखिएको आयोगले जनाएको छ ।