• १७ पुस २०८१, बुधबार

कुखुराको मासु खाँदा किशोरको मृत्यु

blog

फाइल तस्विर

शिवराज ढुंगाना 

मंगलसेन, पुस १४ गते । बोयलर कुखुराको मासु खाँदा अछाममा एक किशोरको ज्यान गएको छ । एकै परिवारका तीन जना गम्भीर बिरामी परेका छन् । 

मृत्यु हुनेमा कमलबजार नगरपालिका –३ बयलाका निवासी १५ वर्षीय कमल विक रहेका छन् । मृतकका बज्यै ७० वर्षीया नाम विक, बहिनी १४ वर्षीया सीता विक र नौ वर्षीय विकास विक अस्वस्थ भएको अछाम प्रहरीले जानकारी दिएको छ । बिरामीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ । 

गाउँनजिक रहेको बेलखेत बजारबाट मरेको बोइलर कुखुरा कमलले ल्याएर शुक्रबार बेलुकी खाएपछि बिरामी भएर कमलको मृत्यु र अन्य तीन जना अस्वस्थ  भएको वडा अध्यक्ष नन्दसिंह कुँवरले जानकारी दिनुभयो । 

‘शुक्रबार मरेको बोयलर कुखुरा ल्याएर खाएछन् । हामीले आज थाहा पायौंं, त्यो केटालाई बचाउन सकिएन’ वडा अध्यक्ष कुँवरले भन्नुभयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मंगलसेन ल्याइएको छ । मृतकका बुवा आमा र जेठो भाइ रोजगारीका क्रममा भारतमा रहेका छन् ।