रमेश पौडेल
पोखरा, पुस १४ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार माध्यमले सरकारलाई खबरदारी गर्ने मात्र नभई सूचना प्रवाह गर्ने दायित्वबाट पछि हट्नु नहुने बताउनुभएको छ।
नेपाल पत्राकार महासंघ गण्डकीका नवनिर्वाचित कार्यसमितिको आइतबार शपथ ग्रहण तथा पदस्थापना समारोहमा बोल्दै उहाँले विद्यमान अवस्थामा सामाजिक सञ्जालका कारण मूलधारका मिडियाको आर्कषण घट्दै गएको वर्तमान अवस्थामा सत्यतथ्य र वस्तुनिष्ठ समाचार तथा सूचना नागरिकमा प्रवाह गर्नुपर्ने बताउनुभयो।
मूलधारका मिडियाको संस्थागत विकास र पत्रकारको पेशागत मर्यादा उच्च राख्नका लागि अनुसन्धानात्मक रुपमा तथ्यपरक समाचार सम्प्रेषण गर्नुपर्ने उहाँको भनाइ थियो। उहाँले गण्डकी प्रदेश सरकारले गरेका कामको मूल्याङ्कन अनुसन्धानात्मक रुपमा गरी वस्तुनिष्ठ सूचना प्रवाह गर्न पत्रकारलाई आग्रह गर्नुभयो।
मुख्यमन्त्री पाण्डेले संघीयता र प्रदेशका बारेमा बोल्दै प्रदेशमा बसेर काम गरेका मन्त्री तथा मुख्यमन्त्री संघमा गएर प्रदेशको मुद्दाको बारेमा आवाज नउठाउनु चिन्ताको विषय भएको बताउनुभयो।
उहाँले प्रदेशमा नीतिगत र कानुनत निर्णय गर्ने अधिकार कम रहेको भन्दै अपेक्षित रुपमा काम गर्न नसक्दा प्रदेशप्रति नकारात्मक भाष्य सिर्जना भएको बताउनुभयो।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार बनाउने क्रममा संघको हुबहु संरचना निर्माण गरिएको बताउनुहुँदै प्रदेशमा संरचना कै कारण अहिले मूल्याङ्कन गर्दा प्रशासनिक खर्चबाहेकको उपलब्धि खासै नभएको बताउनुभयो।
समारोहमा नेपाल पत्रकार महासंघ गण्डकीका नवनिर्वाचित कार्यसमितिलाई शपथ तथा पदभार ग्रहण गराइएको थियो। निर्वाचनबाट महासंघ गण्डकीका रमेश पौडेलको नेतृत्वमा २१ सदस्यीय नयाँ समिति निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष पौडेलले पत्रकारका साझा मुद्दालाई एकसाथ लिएर अगाडि बढ्ने बताउनुभयो। नेपाल पत्रकार महासंघ गण्डकीका पूर्व अध्यक्ष नारायण शर्माको अध्यक्षता सम्पन्न कार्यक्रममा निर्वाचन समितिका संयोजक कोमलनाथ बराल, पत्रकार महासंघ केन्द्रीय सचिव सोनी खनिया, गण्डकी प्रेस रजिष्ट्रार बिमला भण्डारी, महासंघ गण्डकीका सल्लाहकार गोविन्द सुवेदी, पूर्वसचिव कैलाश श्रेष्ठलागायतले पत्रकारिताको बारेमा धारणा राख्नुभयो।