चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १४ गते। ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने पर्यटक बढ्दै गएका छन्। पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार कञ्चनजङ्घाको भ्रमण गर्ने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको हो।
कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्कअनुसार कञ्चनजङ्घा भ्रमणमा आउने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको पाइएको छ। कार्यालयका संरक्षण अधिकृत (वार्डेन) प्रमोदकुमार यादवले पाँच वर्षे तथ्याङ्कलाई हेर्दा कञ्चनजङ्घा भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या हरेक वर्ष बढेको बताउनुभयो।
संरक्षण अधिकृत यादवका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६०८ जना विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्न आएका छन्। यस्तै कोरोना भाइरस (कोभिड–१९) को महामारीको मुख्य समय आव २०७७/७८ मा विदेशी पर्यटकको आगमन शून्य भए पनि त्यसपछिको वर्ष अर्थात् आव २०७८/७९ मा २०६ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका थिए।
आर्थिक वर्ष २०७९/८० मा कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढेर ७१३ पुगेको थियो। यस्तै आव २०८०/८१ मा एक हजार ८५ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका संरक्षण अधिकृत यादवले जानकारी दिनुभयो। यता चालु आवको पाँच महिनाभित्रै अर्थात मङ्सिर सम्ममा ८७७ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन्।
वर्षमा दुई मौसम (सिजन) पर्यटकको आगमन हुने गर्दछ। चालु आवको पहिलो मौसममै ठुलो सङ्ख्यामा विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गर्नु पर्यटन क्षेत्रका लागि सकारात्मक सन्देश भएको पर्यटन व्यावसायी बताउँछन्। विस्तारै सडकको पहुँच विस्तार तथा पदमार्ग सहज हुँदै गएकाले अझ कञ्चनजङ्घा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्दै जानेमा पर्यटन व्यावसायी ढुक्क छन्।
पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार विदेशीसँगै आन्तरिक पर्यटकको सङ्ख्या पनि बर्सेनि बढ्दै गइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका कार्यालय सचिव मनकुमार लिम्बूले जानकारी दिनुभयो। लिम्बूका अनुसार कार्यालयले आन्तरिक पर्यटकको यकिन तथ्याङ्क नराखे पनि कञ्चनजङ्घामा उपस्थिति बढिरहेको छ। यता कञ्चनजङ्घामा पर्यटकको सङ्ख्या अझ बढाउने उद्देश्यसहित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन् परिषद्ले आगामी वैशाखमा कञ्चनजङ्घा हीरक महोत्सव आयाोजना गर्ने भएको छ।