• १७ पुस २०८१, बुधबार

मदन भण्डारी गोल्डकप भलिबलको तयारी पूरा

blog

गोरखापत्र अनलाइन

बुटवल, पुस १४ गते । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ्गसिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ आयोजना हुनेभएको छ । पुस १७ देखि २४ गतेसम्म आयोजना हुने सो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुनेछ ।

प्रतियोगिताको तयारी पूरा भएको एकेडेमीले जनाएको छ । प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठ वटा समूहले प्रतिष्पर्धा गर्दैछन् । ती समुहमा मदन भण्डारी स्पोर्टस एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, गुजरात स्टेट भलिबल एसाेसिएसन (भारत), गलकोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र रहने छन् ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार बुटवलस्थित रामनगर खेल मैदानमा आयोजना हुने प्रतियोगितामा प्रथम पुरस्कार सात लाख, द्वितीय पुरस्कार तीन लाख पचास हजार, तृतीय पुरस्कार एक लाख पचहत्तर हजार, सान्त्वना पुरस्कार एक लाख रुपियाँ नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ । उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार रहने छन् । पुस १६ गते बुटवलमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिने बताइएको छ ।