• १७ पुस २०८१, बुधबार

पर्यटकको गन्तव्य बन्दै पाख्रिबास

blog

पाख्रिबास बजारबाट पूर्वतर्फको डाँडामा निर्माण गरिएको मन्दिर तथा यलम्बरको प्रतिमा । तस्विरः कविराज घिमिरे

कविराज घिमिरे 

हिले, पुस १४ गते । धनकुटाको पाख्रिबासमा पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । पहिले कृषि अनुसन्धान केन्द्र मात्र आकर्षक गन्तव्यको रूपमा रहेको पाख्रिबासमा अहिले पर्यटकका लागि पनि गन्तव्य बनेको छ ।  

धनकुटा सदरमुकामबाट करिब १७ किलोमिटर उत्तर तथा पर्यटकीय नगरी हिलेसँगै जोडिएको यो स्थानमा केही गन्तव्य निर्माणकै क्रममा रहेका छन् । कृषि अनुसन्धान केन्द्र बाहेक संसारीमाईस्थान सिमसार क्षेत्र, जौटार सामुदायिक वन क्षेत्र, राम्चे डाँडा पाख्रिबास बजारमाथि निर्माण गरिएको मन्दिर मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको स्थानीय प्रेम भण्डारी बताउनुहुन्छ । 

संसारीमाईस्थान सिमसार क्षेत्र पाख्रिबास बजारसँगै जोडिएको छ । जहाँ चिया बगान, पोखरी विभिन्न भगवान् का ठुला मुर्ति तथा विमानको प्रतिमा निर्माण गरिएको छ । करिब दुई करोडको लागतमा यो स्थानमा निर्माण गरिएको हो । पछिल्लो समय पिकनिक खानेका लागि आकर्षणको केन्द्र बन्दै गएको स्थानीय श्याम राईले बताउनुभयो । 

त्यस्तै, पाख्रिबासको पूर्वतर्फको डाँडामा पाख्रिबास नगरपालिका तथा काठमाडौं महानगरपालिकाको संयुक्त लगानीमा करिब तीन करोड रुपियाँ खर्च गरेर मन्दिर, सिंढी, यलम्बरको मूर्ति, शौचालय आदि निर्माण गरिएको छ । जुन पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दैगएको छ ।

यी स्थानसहित पाख्रिबास बजारबाट उकालो लागेर जौटार सामुदायिक वनतर्फ जाने क्षेत्र आफैँमा मनमोहक छ । यहाँ यात्रा गर्दा डाँडाबाट देखिने सुन्दर हिमाल, पहाडी मनोरम दृष्य, नाँगी तथा जैबिक विविधताले जोकोहीको मन लोभ्याउँछ । पर्यटकीय स्थानमा पूर्वाधार निर्माणको काम भइरहेको पाख्रिबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ बताउनुहुन्छ । 

“हाम्रो पालिकाको मुख्य लक्ष्य भनेको पूर्वाधारसहित कृषि र पर्यटन हो सोही लक्षअनुसार हामी पर्यटनतर्फ काम गरिरहेका छौं” गुरुङले भन्नुभयो । पाख्रिबासको राम्चेक्षेत्र अर्को आकर्षक गन्तव्य हो । जहाँबाट मकालु, चाम्लाङ, लगायतको हिमालसहित अरुण उपत्यका, पहाडी क्षेत्रको मनमोहक दृष्य देख्न सकिन्छ । त्यस्तै, यहाँको चिया बगान, नाँगीले थप आकर्षक बनाएको छ । यो स्थानमा पर्यटक आकर्षित गर्न भ्युटावर निर्माण गरिएको छ ।