• १७ पुस २०८१, बुधबार

‘अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक’

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा (एमाले) को पर्सा जिल्ला कमिटीले सखुवा प्रसौँनीमा आयोजित कार्यक्रममा सहभागीहरू । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

पर्सा,  पुस १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताउनुभएको छ ।

नेकपा (एमाले) को पर्सा जिल्ला कमिटीले आज सखुवा प्रसौँनीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश र जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अहिलेको सरकारले देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेको बताउनुभयो । 

“हामी क्रान्तिकारी हौँ । क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुस गर्नु होइन, अब जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ । मधेशका मसिया भन्ने पार्टीका नेताहरूले विकास निर्माणमा नभई संविधानका धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरे । हामी त्यस्तो गर्दैनौँ । मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई हामीले महत्त्व दिएका छौँ । यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेमा ढुक्क हुनुहोस् ।”, 


प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब तर्क गरिहनु आवश्यक छैन । व्यवहारबाट पुष्टि भइएसकेको छ  । देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो । त्यसकारण म अरू पार्टीमा रहेका साथीहरूलाई पनि एमालेमा आउन आग्रह गर्दछु । मलाई विश्वास छ मधेश प्रदेशको आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ ।”

प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गमा १३ आधुनिक सहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता, कृषि उत्पादन र आय बढाउने जस्ता काममा विगतमा आफू सरकारमा हुँदा महत्त्व दिएको र अब पुनः ती कामले गति लिने बताउनुभयो । 

उहाँले स्थानीयवासीको माग बमोजिम पर्साको पोखरियाको नगर अस्पताललाई स्तरोन्नती गरिएको र नापी तथा मालपोत कार्यालयको सेवा केन्द्र स्थापना गरिएको बताउँदै चाँडै इलाका प्रशासन कार्यालय स्थापना गरिने विश्वास दिलाउनुभयो । 

प्रधानमन्त्री ओलीले बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मान गर्न तथा महिला दिदीबहिनीलाई सामाजिक र राजनीतिकरूपमा अगाडि बढाउन सहयोग गर्न आग्रह गर्दै महिला र युवालाई अत्याधिकरूपमा परिचालन नगरेसम्म जनतामा भिजेको बलियो पार्टी बनाउन नसकिने भएकाले त्यस अनुसार काम गर्न स्थानीय पार्टी नेतृत्वलाई सुझाव दिनुभयो । 

कार्यक्रममा सो गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाललगायत विभिन्न पार्टीबाट एमालेमा प्रवेश भएको थियो ।


यो पनि पढ्नुहोस

प्रधानमन्त्री ओली पर्सामा