• १७ पुस २०८१, बुधबार

सदर चिडियाखाना राति पनि सञ्चालन गरौँँ : प्रमुख महर्जन

blog

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै ।

ललितपुर, पुस १४ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानालाई रात्रिकालिन चिडियाखानाको रूपमा विकास गर्नका लागि महानगर लगानी गर्न तयार रहेको बताउनुभएको छ ।

आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू प्रमुख भएर आएपछि चिडियाखासँग सम्बन्धित प्रतिबद्धताहरू सबै पूरा गरिसकेको दाबी गर्नुभयो । उहाँले सदर चिडियाखानालाई रात्रिकालिन रूपमा चलाउनका लागि सम्भव भए÷नभएको अध्ययन गर्न चिडियाखानाको व्यवस्थापन समितिलाई आग्रह समेत गर्नुभयो ।

उहाँले ललितपुर महानगरमा रात्रिकालिन क्रियाकलापहरू सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै सदर चिडियाखानाबाटै रात्रिकालिन क्रियाकलापहरूको थालनी गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘चिडियाखानाको व्यवस्थापनले महानगरपालिकासँग एउटा अर्को सहकार्य गरौं । विदेशतिर रात्रिकालिन जू हुन्छन् । रातिको समयमा पनि चिडियाखाना हेर्न पाइने रहेछ । मैले पनि दुई ठाउँमा हेरे । हामीकहाँ यो सम्भावना छ कि छैन ? एकचोटि अध्ययन गरौं न ।,’’ प्रमुख महर्जनले भन्नुभयो, ‘‘अध्ययन गरेर रात्रिकालीन चिडियाखाना बनाउन सहज र सम्भव छ भने महानगर लगानी गर्न तयार छ । यसको अध्ययन गर्नका लागि विशेष अनुरोध गर्न चाहान्छु ।’’

उहाँले वन्यजन्तु संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रमा काम गर्न जरुरी रहेको बताउनुभयो ।