कन्हैयालाल केशरी
पर्सा, पुस १४ गते । पर्सागढीलाई पर्यटकीय स्थलको रूपमा विकास गरिने भएको छ । विक्रम सम्बत् १८७१, पुस १९ गते तत्कालिन ब्रिटिस सेना (भारत) र गोरखाली सेना (नेपाली सेना) बिच पर्सा जिल्लाको पर्सागढीमा भएको ऐतिहासिक युद्धस्थललाई पर्यटकीय स्थलको रूपमा विकास गरिने भएको हो ।
आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली सेनाले आधुनिक हतियारसँग सुसजित ब्रिटिस सेनामाथि ऐतिहासिक विजय प्राप्त गरेको उपलक्ष्यमा प्रत्येक वर्ष विजय महोत्सव मनाउने गरेको पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले जानकारी दिनुभयो । उहाँले हरेक वर्षझै यस वर्ष पनि नेपाली सेना, पर्सागढी नगरपालिका र देवस्थल पर्सागढी मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजना र सहकार्यमा पुस १९ गते २१० औं विजय महोत्सव मनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
यस्तै, उहाँले मन्दिरको जग्गा अतिक्रमणको चपेटामा परेकोले जग्गा अभावका कारण चाहेर पनि पर्सागढीलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न समस्या भएको बताउनुभयो। "पर्सागढीलाई पर्यटकीय स्थलको रूपमा विकसित गर्न प्रदेश सरकार र सङ्घीय सरकारको सहयोग र सहकार्यमा पर्यटकीय स्थलको रूपमा विकसित गरिने छ", उहाँले भन्नुभयो।
देवस्थल पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बृजमोहन चौधरीले आफ्ना पूर्वज रन्जित चौधरीको नेतृत्वमा पर्सागढीमा लडिएको युद्धमा गोर्खाली सेनाले विजय प्राप्त गरे पनि ऐतिहासिक युद्धस्थल ओझेलमा परेको गुनासो गर्नुभयो । वीरगन्जस्थित नेपाली सेनाको श्रीजङ्ग गणले पनि पुस १९ गते मनाइने विजय महोत्सवको तयारीमा जुटेको जानकारी गराएको छ ।