इमान सिं राना
रामपुर (पाल्पा), पुस १४ गते । पाल्पाको निस्दी गाउँपालिकाले एकीकृत घुम्ती शिविरबाट नागरिकलाई सेवा प्रदान गरेको छ । पालिका तहबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन पालिकाले वडावडामा पुगेर सेवा प्रदान गरेको हो ।
भौगोलिक रूपमा विकट र पालिका तहमा सेवा लिन जान ३÷४ घण्टा हिँडेर जानुपर्ने नागरिकको बाध्यतालाई मध्यनजर गर्दै शिविरमार्फत् सेवा प्रदान गरेको हो । भुगोलको हिसाबले दुर्गम रहेको गाउँपालिकाले नागरिकको सहजताका लागि गत पुस ६ देखि १३ गते सम्म प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरेको थियो ।
वडा कार्यालयबाट सबै सेवा नपाइने र भुगोलका कारण पालिकाको सेवा सबैको सहज पहुँचमा नभएकाले घुम्ती शिविरमार्फत् सेवा प्रवाह गरिएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष तिरनकुमारी श्रेष्ठले शिविरको माध्यमबाट पालिकाले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउन सहज भएको बताउनुभयो ।
टाढा गएर सेवा लिन नसक्ने नागरिकलाई सहज, सरल र सर्वसुलभ रूपमा सेवा प्रदान गर्नका लागि शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालले बताउनुभयो । वार्षिक स्वीकृत कार्यक्रम मार्फत पालिकाको सेवा सहित अन्य थप सेवा प्रदान गरिएको जानकारी दिनुभयो । निस्दी–५ का स्थानीय होम बहादुर शाहीले वडाबाटै योजना सम्झौता लगायतका सेवा पाउँदा खुसी लागेको बताउनुभयो ।
शिविरबाट ७२ वटा योजना सम्झौता गर्नुका साथै १३ वटा योजनाको पेश्की भुक्तानी गरिएको गाउँपालिकाका सूचना अधिकारी अर्जुन खनालले जानकारी दिनुभयो । उहाँका अनुसार ६७८ जनाको दाँत परीक्षण, ५५१ जनाको स्वास्थ्य परीक्षण, ९०४ कृषकका २९ हजार ५५० पशुपंक्षिलाई औषधी वितरण गरिएको थियो । साथै शिविरमार्फत् २३ जनाले व्यवसाय दर्ता, ३८ जनाले नवीकरण, ६ जनालाई अपाङ्गता परिचय पत्र वितरण, ८४ वटा माटोको नमुना परीक्षण, २२७ जेष्ठ नागरिकलाई सम्मान, १६ जना असहाय महिलालाई सहयोग प्रदान र प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध ४६ जनालाई सुरक्षा सामाग्री प्रदान गरिएको थियो ।
शिविरमा प्रत्येक वडाका कृषकले उत्पादन गरेका कृषि उपजको प्रदर्शन गरी उत्कृष्टलाई पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । वडागत रूपमा विद्यालयहरूले तयार गरेका शैक्षिक सामग्री प्रदर्शनी समेत भएको थियो । उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यमीहरूले उत्पादन गरेको सामग्री बिक्री वितरण गरिएको थियो ।