• १७ पुस २०८१, बुधबार

'वर्तमान सरकारलाई असफल हुने छुट छैन'

blog

जनकपुरधाममा अयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, पुस १४ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशमा राजनीतिक स्थायित्व कायम गर्न दुई ठुला दलबिच गठबन्धन गरिएको बताउनुभएको छ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका वरिष्ठ नेता डा. कोइरालाले राजनीतिक अस्थिरताले देशको विकासमा अवरोध सिर्जना गरिरहेको अवस्थामा दुई नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति गरेर वर्तमान गठबन्धनको सरकार बनेको बताउनुभएको हो । 

डा. कोइरालाले धेरै छलफलपछि गठन भएकाले यसलाई असफल हुने कुनै छुटनभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यदि वर्तमान सरकार असफल भयो भने देश अराजकतातर्फ जान सक्छ । त्यसैले, वर्तमान सरकारलाई कुनै पनि हालतमा असफल हुन दिनुहुँदैन ।”

यस्तै, कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्न तयार रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीभित्र कुनै पनि प्रकारको मनमुटाव नरहेको भन्दै दाबी गर्नुहुँदै २०८४ सालको चुनावका लागि कांग्रेस पूर्ण रूपमा तयार रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीति गर्नेहरूले चलायमान हुनुपर्ने र जनतासँग घुलमिल गर्न आवश्यक रहेको कुरा पनि व्यक्त गर्नुभयो । साथै, संविधानको मर्मअनुसार गठबन्धनको सरकार चलायमान रहेको दाबी समेत गर्नुभएको छ । उहाँले भन्नुभयो,“वर्तमान सरकारलाई सफल बनाउन सबै पक्षले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता रहेको छ ।”

प्रेस युनियन धनुषाका अध्यक्ष राजनकुमार सिंहको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव, कांग्रेस धनुषा जिल्ला सभापति योगेन्द्र पजियार, प्रतिनिधि सभा सदस्य कृष्ण यादव, मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनील यादव, श्रम तथा यातायातमन्त्री कौशल किशोर राय, युनियनका धनुषा जिल्ला सचिव हरिबंश यादवलगायतको उपस्थिति रहेको थियो ।