बिन्दु थापा
पाल्पा, पुस १४ गते । तानसेनका खानेपानी उपभोक्ताहरुको सहजताका लागि तानसेन नगरपालिका –५ चिहानडाँडामा पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण गरिनेभएको छ । उपभोक्तालाई हरेक समयमा पानी उपलब्ध गराउने उद्देश्य राखी ५० लाख लिटरको ट्याङ्की बनाउन माटो परीक्षण गर्न लागिएको समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो ।
अध्यक्ष श्रेष्ठका अनुसार अहिले २०–२० मिटर गहिराइ परीक्षण गरिएको छ । तानसेन खानेपानी उपभोक्ता समिति तानसेन पाल्पाले तानसेन आउने समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्न लागिएको समितिका सदस्य तथा नयाँ स्रोत पहिचान संयोजक वसन्त गहतराजले जानकारी दिनुभयो ।
पानी सङ्कलन भएपछि लामो समय विद्युत् जाँदा, खडेरी हुँदा, वर्षायाममा समस्या हुँदा सहज रुपमा उपभोक्तालाई पानी उपलब्ध गराउने योजना राखी ट्याङ्की निर्माण गर्न लागिएको गहतराजले बताउनुभयो । बेरिङ क्यापिसिटिको काम लुम्बिनी साइन्टिफिक इम्पोरियम रामग्रामले गर्नेछ । लुम्बिनी साइन्टिफिक इम्पोरियम रामग्राम प्रोजेक्ट म्यानेजर नवीन भट्टराईले पानी ट्याङ्की निर्माण गर्दा पानीको क्षमता र ट्याङ्कीको क्षमता पत्ता लगाउनुपर्ने बताउनुभयो ।
माटाले कतिसम्म धान्न सक्छ सक्दैन भन्ने माटोको परीक्षणबाट मात्र थाहा हुने भएकाले माटो परीक्षण गर्नुपर्ने उहाँको भनाइ छ । त्यही क्षमताका आधारमा ट्याङ्की बलियो निर्माण गर्न माटोको नमुनाका लागि बिस–बिस मिटरमुनिको माटो परीक्षण गर्न ल्याब पठाएको समितिले जनाएको छ ।