• ७ वैशाख २०८२, आइतबार

'प्रजातन्त्रको सौन्दर्य' र 'अविस्मृत विम्बहरू' लोकार्पण

blog

पुस्तकको लोकार्पण गर्नुहुँदै मन्त्री प्रदीप पौडेललगायत । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, पुस १४ गते । पूर्वमन्त्री तथा नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य अमरराज कैनीद्वारा लिखित दुई कृति लोकार्पण गरिएको छ । आफ्नै विगत नियाल्दा, प्रजातन्त्रको सौन्दर्य र अविस्मृत विम्बहरू नामक कृति लोकार्पण गरिएको हो ।

नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हालै पुस्तक लोकार्पण गर्दै दुवै कृति पठनीय, सन्देशमूलक र सङ्ग्रहणीय रहेको बताउनुभयो । पुस्तक विमोचनको क्रममा मन्त्री पौडेलले अमरराज कैनीको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको बताउनुभएको थियो । 

उहाँको नेतृत्व र सक्रियता नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण रहेको भनाई पौडेलको थियो । मन्त्री पौडेलले भन्नुभयो, "कांग्रेस पार्टीको सुदृढीकरणमा उहाँको भूमिका अझै महत्वपूर्ण छ र यसलाई हामी कहिल्यै बिर्सन सक्दैनौं ।" शिक्षक कल्पना पौडेल र कल्पना घिमिरेले पुस्तकको समीक्षा गर्नुभएको थियो । पुस्तकमा कैनीका अनुभव र प्रजातन्त्रका बारेमा विचारहरूको सङ्ग्रह गरिएको छ । 

नेपाली कांग्रेस तनहुँका सभापती तथा गण्डकी प्रदेशसभा सदस्य जीतप्रकाश आलेले “कांग्रेस पार्टीको उन्नतिको लागि कैनीको योगदान अविस्मरणीय बताउनुभयो । संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले कैनीलाई प्रजातान्त्रिक आन्दोलनका एक प्रेरणास्त्रोतको रूपमा चिनाउन महत्वपूर्ण भएको बताउनुभयो । आगामी पुस्तालाई प्रजातन्त्र र त्यसको महत्व बुझ्न सहयोग पुर्‍याउने उहाँको भनाइ छ ।

पहिलो कृति प्रजातन्त्रको सौन्दर्य पुस्तकको खण्ड ‘क’ मा कैनीका वैचारिक लेखहरु २०५० साल देखि साप्ताहिक विमर्श, कान्तिपुर दैनिक, नागरिक दैनिक, अन्नपूर्ण पोष्ट लगायतमा छापिएका तथा नछापिएका १९ वटा लेख समावेश छन् भने खण्ड ’ख’ मा कैनीले विभिन्न पत्रपत्रिहरूमा दिएका अन्तर्रवार्ताहरु समावेश छन् । त्यसैगरि खण्ड ‘ग’ मा कैनीद्वारा लेखिएका विभिन्न १४ वटा संस्मरणात्मक लेख समावेश गरिएकाे छ । पुस्तक १ सय ५८ पृष्ठको छ ।

त्यसैगरी, कैनीले लेख्नुभएकाे अर्को पुस्तक ‘आफ्नै विगत नियाल्दा’ आत्मवृत्तान्त पुस्तकमा  १०४ वटा लामा छोटा आत्मवृत्तान्त समावेश छन् । कैनीले पुस्तकमार्फत अन्तिममा पाठकलाई भावुक हुन बाध्य बनाउनुभएको छ । उहाँले अन्तिम इच्छा मरेपछिको शीर्षकमा लेख्नुभएको छ, "मलाई पूर्वजन्म र पुनर्जन्मप्रति विश्वास छैन मेरो जन्म संयोग मात्र हो, जन्मिएर अस्तित्व स्थापित भयो, मर्छु समाप्त हुन्छु ।" 

मरिसकेपछि म कतै हुन्न शरीर कसैको माटोमा मिल्छ, कसैको धुवाँ र खरानीमा उडाइन्छ, आआफ्नो धर्म र परम्परा अनुसार तर मैले मेरो पार्थिव शरीरको पनि उपयोग होस् भन्ने इच्छा राखेँ भनी उल्लेख गर्नुभएको छ । मेरो इच्छा अनुसार  मृत्युपछि पार्थिव शरीर महाराजगञ्ज शिक्षण अस्पताललाई दान दिने निर्णय गरेको उल्लेख गरिएको छ । कैनीले भन्नुभएको छ, "मेरो परिवारले म मरेपछि दाहसंस्कारको निर्दिष्ट गरेका संस्कारजन्य कर्म नगरुन् भन्ने मेरो चाहना छ । १३ दिनको क्रियाकर्म, दान पुण्य केही पनि गर्नुपर्दैन ।" 

सम्भव भएर जुटेमा परिवारले मात्र दुईतीन दिन जम्मा भएर समवेदना, सहानुभूति दिन आउने इष्टमित्र, शुभचिन्तक र शुभेच्छुकहरुलाई स्वागत एवं धन्यवाद दिए मात्रै पुग्छ यिनै शब्दका साथ म विराम लिन्छु भनी अन्तिममा भन्नुभएको छ । पुस्तकमा केही दस्तावेज र पारिवारिक, ऐतिहासिक तथा व्यक्तिगत रङ्गीन तस्बिरहरु पनि समावेश रहेका छन् । पुस्तक १ सय १० पृष्ठको छ । 

दुबै पुस्तकको प्रकाशकमा कैनीकी श्रीमती डा. प्रभादेवी देवकोटा कैनी हुनुहुन्छ । दुबै पुस्तक बिक्रीबाट प्राप्त हुने रकम ‘अमर– प्रभा कोष’ मार्फत विपन्न वर्गका बालबालिकाको शिक्षा र स्वास्थ्यमा सदुपयोग गरिने भएको छ । उक्त कोषमा छोराहरु प्रवीण र नवीन कैनीले एक लाख रुपियाँ जम्मा गरिसकेको जनाउनुभएको छ । 

कार्यक्रममा नेपाली कांग्रसका केन्द्रीय सदस्य  ध्रुव वाग्ले, गण्डकी प्रदेशका पूर्व मन्त्री डोबाटे विक, गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ , नेपाली कांग्रेस तनहुँका निर्वतमान सभापति वैकुण्ठ न्यौपाने,पूर्व सभापति रघुनाथ पौडेल, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कँडेल, शिक्षाविद् डा. रामचन्द्र पाण्डे, तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायतले निष्ठावान, त्यागी,  इमानदार र प्रजातन्त्रको सच्चा सिपाही भएको उल्लेख  गर्दै उहाँको सङ्घर्षका कथा पुस्तको रुपमा आउँदा भावी पुस्तालाई ज्ञान लिन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । 

कैनी तनहुँको क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई श्रम राज्यमन्त्री बन्नुभएको थियो ।