चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १४ गते । ताप्लेजुङमा आगामी वैशाखमा कञ्चनजङ्घा हीरक महोत्सव मनाइने भएको हो । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहणको ७० वर्ष पुगेको अवसरमा हीरक महोत्सव मनाउन लागिएको हो ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा कञ्चनजङ्घा आरोहणको ७० औं वार्षिक उत्सव अर्थात् हीरक महोत्सव मनाउन लागिएको हो । परिषद्ले सदरमुकाम फुङ्लिङमा आइतबार पत्रकार सम्मेलन गर्दै २०८२ साल वैशाख ५ देखि ७ गतेसम्म तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइने जानकारी दिएको छ ।
कञ्चनजङ्घा हीरक महोत्सव परिषद्को मुख्य कार्यालय रहेको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा आयोजना गरिने भएको छ । परिषद्का सदस्य–सचिव मनकुमार राईका अनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरी पर्यटन विकास र प्रवर्धन गर्ने उद्देश्यले हीरक महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवमा कञ्चनजङ्घा संरक्षण क्षेत्र भ्रमणका लागि पदयात्रा गर्न आह्वान गर्ने, यहाँँको पर्यटकीय गन्तव्य तथा स्थलको फोटो प्रदर्शनी, स्थानीय समुदायको संस्कार र संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रवर्द्धन र प्रचार, खाद्य परिकारको प्रदर्शनीजस्ता गतिविधि हुनेछन् । यस्तै खुला पुरुष भलिबल प्रतियोगिता पनि सञ्चालन गरिने परिषद्ले जनाएको छ ।
यता कञ्चनजङ्घा हीरक महोत्सवलाई व्यापक बनाउन काठमाडौंमा राष्ट्रिय स्तरको महोत्सव लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले जानकारी दिनुभयो । त्यस्तै बेलायती राजदूतावासको व्यवस्थापन तथा समृद्ध पहाड परियोजनाको समन्वयमा बेलायतमा समेत हीरक महोत्सवअन्तर्गतको कार्यक्रम गर्नेगरी प्रक्रिया अघि बढाएको समृद्ध पहाड परियोजनाकी कार्यक्रम संयोजक चित्राकुमारी चङ्सु (मेन्याङ्बो) ले बताउनुभयो ।
कोभिड–१९ महामारीपछि कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने बाह्य तथा आन्तरिक पर्यटकको वृद्धि भइरहेको बेला महोत्सवले थप टेवा पुग्ने अपेक्षा राखिएको कञ्चनजङ्घा संक्षरण क्षेत्र कार्यालयका संरक्षण अधिकृत (वार्डेन) प्रमोदकुमार यादवले बताउनुभयो । महोत्सवले कञ्चनजङ्घा क्षेत्रको प्रचारप्रसार र प्रवर्धनमा व्यापकता पाउने र पर्यटकको उपस्थिति बढ्ने विश्वास राखिएको यादवको भनाइ छ ।
समुद्री सतहदेखि आठ हजार ५८६ मिटर उचाइ रहेको कञ्चनजङ्घा हिमालको सन् १९५५ मे २५ मा बेलायतका आरोही जर्ज बैण्डले पहिलो पटक आरोहण गर्नुभएको थियो । यसअघि २०७३ साल मङ्सिरमा पनि कञ्चनजङ्घा आरोहणको ६० वर्ष पुगेको अवसरमा ताप्लेजुङमा हीरक महोत्सव आयोजना गरिएको छ । त्यसबेला महोत्सवको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभएको थियो ।