• १६ पुस २०८१, मङ्गलबार

काम छाडेर पानी भर्न लाइनमा

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, पुस १४ गते । जिल्लाको गल्याङ नगरपालिका–२ बटुवाबस्तीका बासिन्दाले काम छोडेरै पानीको लाइनमा बसेर पानी भर्नुपर्ने बाध्यता रहेको छ । यहाँका स्थानीयले दुई गाग्री पानी भर्नका लागि बिहान ५ बजे उठ्नुपर्ने बाध्यता छ भने साँझको काम छोडेर ३ बजे नै धारा कुरेर बस्नुपर्ने बाध्यता रहेको छ । 

बस्तीमा ११८ घर धुरीका लागि ११ वटा धारा रहेका छन् भने एक धाराबाट १६ देखि २१ घरले पानी भर्नुपर्ने बाध्यता रहेको छ । यहाँ बिहान साढे दुई घण्टा र बेलुका साढे दुई घण्टा धारामा आउने भएकाले हरेक व्यक्तिले बढीमा पर्याप्त पानी भर्न पनि पाउँदैनन् । स्थानीय जसुदा भण्डारीका अनुसार बढीमा एक जनाले आठ मिनेटमा पानी भरेर धारा खाली गरेर अर्कोलाई पालो दिनु पर्छ ।  

पालो कुरेर पानी भर्दा दुई गाग्री पानी भर्न सकिने बताउँदै भण्डारीले खानेपानी धौ धौले पुगे पनि गाई वस्तुका लागि र नुहाउन, लुगा धुन भने चिम्लेखोला र सारङ्गी खोलासम्म जानुपर्ने बाध्यता रहेको बताउनुभयो । कामको मेलो छाडेर पानी कुरेर बस्दाबस्दै कहिले थोरै समय आएर र कहिले पानी नै नआएर रित्तै घर फर्कनुपर्ने बाध्यतासमेत यहाँ रहेको छ । 

बर्सात्को समयमा पानी पुग्ने गरेको छ तर जब हिउँद सुरु हुन्छ, खानेपानीको व्यवस्था कसरी गर्ने भन्ने चिन्ता बढ्ने स्थानीय समाजसेवी तथा टोल सुधार समितिका अध्यक्ष भीमबहादुर भण्डारीले बताउनुभयो । उहाँले उत्तरमा आँधीखोला र दक्षिणमा कालीगण्डकीले घेरिएको गाउँले नै बत्तिमुनिको अँध्यारो जस्तै खानेपानीबाट चरम समस्यामा भोग्नु परेको बताउनुभयो । यहाँका बासिन्दाले गाउँभन्दा सात किमी टाढा गल्याङ नगरपालिका–७, ग्वादीबाट २०४७ सालमा बनेको योजनाबाट पानी ल्याएर खाने गरेको उहाँले बताउनुभयो । 

यहाँ खानेपानी योजना नआएका पनि होइनन् तर गाउँमा रहेका राजनीतिक दलका नेताका कारण योजना नै बन्न नसकेको स्थानीयको गुनासो छ । चार वर्षअघि सङ्घीय सरकारको छ करोड रुपियाँको लागतमा खानेपानीको काम सुरु भए पनि जस कसले लिने भन्नेका कारण योजना नै अलपत्र परेको अवस्था छ । यो योजनाबाट तीन वटा ट्याङ्की बनेका छन् भने दलका नेताका कारण मूल नपाउँदा सो आयोजना अधुरै रहेको हो ।