नवलपरासी समाचारदाता
छरछरे (नवलपरासी), पुस १४ गते । पूर्वी नवलपरासीको पहाडी गाउँपालिका जोड्ने बाहकोल–छरछरे–बुलिङटार सडक निर्माण सुरु भएको बर्सौं भयो तर अहिलेसम्म सडक निर्माण पूरा हुन सकेको छैन । सडक स्तरोन्नति हुन नसक्दा यो सडक भएर यात्रा गर्नेले सास्ती र हैरानी खेप्दै आएको छरछरेका भीमबहादुर सुनारीले बताउनुभयो । पहिले निर्माणका लागि केही काम भए पनि वर्षाले पहाडी क्षेत्रमा आउने ठुलठुला पहिरोले सडक जस्ताको तस्तै बनाउने र निर्माण कम्पनीले वास्ता नगरेको बुलिङटार गाउँपालिका–२ का वडाध्यक्ष कमलराज बकावलमगरले बताउनुभयो । यो सडक भएर पहाडी बुलिङटार गाउँपालिका हुँदै तनहुँ, पोखरा र पाल्पा जोड्ने सडक निर्माणको काम सबै रोकिएको स्थानीयवासीले गुनासो गरेका छन् ।
सुगम जिल्लाका रूपमा रहेको नवलपरासी विभाजित भएपछि दुई गाउँपालिका बनेको पहाडी क्षेत्रका ५४ हजार जनतालाई प्रत्यक्ष मधेशसँग जोड्ने गरी निर्माण सुरु भएको सडक अलपत्र अवस्थामा रहेको बुलिङटार गाउँपालिकाका पूर्वअध्यक्ष शशि बस्ताकोटीले बताउनुभयो । २०६५ सालदेखि सुरु भएको पहिलो चरण अन्तर्गत बाहकोल–छरछरे–बुलिङटार ३६ किलोमिटर सडकको ट्र्याक खोल्न मात्रै झन्डै १६ वर्ष लागेको बुलिङटार गाउँपालिका–२ का पूर्ववडाध्यक्ष प्रेमबहादुर थापामगरले बताउनुभयो ।
मधेशलाई पूर्वी नवलपरासीको पहाडी गाउँपालिकासँग जोड्ने गरी निर्माण सुरु गरिएको यो सडक अहिले जेनतेन सञ्चालनमा आए पनि स्तरोन्नति हुन अझै नसक्नु दुःखको विषय बनेको बुलिङटार गाउँपालिका–२ का वडाध्यक्ष कमल बकावलमगरले बताउनुभयो । सो सडक चल्नेभन्दा बिग्रने धेरै भएपछि पटक पटकको प्रयासपछि नेपाल सरकारले ग्रामीण कृषि सडक नामकरण गरी विश्व खाद्य सङ्गठनको सहयोगमा चामल वितरण गरेर सडकको निर्माण पुनः सुरु गरेको गण्डकी प्रदेश सरकारका पूर्वकृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले बताउनुभयो । अहिले पनि ठेकेदारले काम नगर्ने, आधा काम गरेर भाग्ने जस्ता धेरै कारणले पनि यो सडक स्तरोन्नति हुन नसकेको छरछरेका समाजसेवी देउबहादुर फालमगर बताउनुहुन्छ । सडक निर्माणले गति लिन नसक्नुमा स्थानीय उपभोक्ताको समेत कमजोरी रहेको भनाइ बुलिङटार गाउँपालिकाका उपाध्यक्ष दिलमाया रानामगरको छ । बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीमगरले यो सडकले पहाडी जनताका आवश्यकता पूरा भएकाले यसको निर्माण छिटो सक्नुपर्ने बताउनुभयो ।