• १६ पुस २०८१, मङ्गलबार

बुटवल–नारायणगढ सडक विस्तार : रोकिएको काम नौ महिनापछि सुरु

blog

लामो समयदेखि निर्माणको क्रममा रहेको बुटवल–नारायणगढ सडकखण्ड ।

भैरहवा समाचारदाता

भैरहवा, पुस १४ गते । करिब नौ महिनादेखि रोकिएको बुटवल–नारायणगढ सडक विस्तारको काम पुनः सुरु भएको छ । काम सुरु भएसँगै अब निर्माणले गति लिने आशा गरिएको छ । सरकारले निर्माण कम्पनीसँग ठेक्का सम्झौता तोड्न सक्ने चेतावनी दिएपछि सडक विस्तारको काम सुरु भएको हो । ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले सरकारले दिएको पहिलो लक्ष्य अनुसार काम सुरु गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो ।

ठेकेदार कम्पनीलाई २०८२ मङ्सिर २५ गतेभित्र सडकको एकतर्फी ७० प्रतिशत कालोपत्रे भएको हुनुपर्ने र दोस्रो सर्तमा २०८२ को चैत १७ गतेभित्र नारायणगढदेखि बुटवलसम्म एकतर्फी सबै कालोपत्रे भएको हुनुपर्ने लक्ष्यसहितको निर्देशन गरिएको छ । ठेकेदार कम्पनीले पहिलो सर्त अनुसार २०८२ मङ्सिर २५ गतेभित्र नारायणगढ–बुटवल सडकखण्डको कम्तीमा ७० प्रतिशत एकतर्फी काम सक्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो । 

गत मङ्सिरको तेस्रो सातादेखि काम पुनः सुरु गरिएको भए पनि सोचे अनुसारको प्रगति नदेखिएको सडक आयोजना पूर्वी खण्डका प्रमुख अनुजा घिमिरेले बताउनुभयो । अहिलेको समय काम गर्ने उपयुक्त मौसम भएकाले कामदार र औजार थप्न भनेकोमा ठेकेदार पनि सकारात्मक देखिएको उहाँले बताउनुभयो । ठेकेदारले दैनिक तीन सय कामदार परिचालन गरेको दाबी गरे पनि दुई सयको हाराहारीमा मात्र कामदार खटिएको आयोजनाले जनाएको छ । औजार र जनशक्ति बढाएर तीव्र गतिमा काम गरे पहिलो लक्ष्य पूरा गर्न कुनै समस्या नभएको आयोजनाको भनाइ छ । 

यो सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ । कुल ११३ किलोमिटर दुरीमध्ये ७० किमि चार लेन, २९ किमिमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरको सर्भिस लेन र दाउन्नेको १४ किलोमिटर तीन लेनको हुने छ । बिचमा ६४ वटा पुल र ४६२ वटा कलभर्टलगायतका संरचना निर्माण गर्नुपर्ने छ ।

२०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग २०७५ माघ २४ गते सम्झौता भएको थियो तर छ वर्षमा झन्डै ५४ प्रतिशत मात्र काम गरेर आलटाल गरेपछि सरकारले सम्झौता तोड्ने तयारीमा पुगेको भन्दै चेतावनी दिएको थियो । तोकिएको समयमा काम नसकिएपछि दोस्रो पटक २०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । यस अवधिमा पनि काम पूरा नभएपछि गत साउनमा तेस्रो पटक २०८२ साउन ८ गतेसम्मका लागि म्याद थप गरिएको छ । एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडकको ठेक्का भएको हो । यसको दुवै खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपियाँ छ ।