• २३ माघ २०८१, बुधबार

भूकम्प प्रभावित बस्तीमा खानेपानी र शौचालय

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, पुस १४ गते ।  रुकुमपश्चिमको सानीभेरी गाउँपालिका र मुसीकोट नगरपालिकामा भूकम्पले क्षति गरेका १४ वटा खानेपानी आयोजना र ८५० वटा शौचालय निर्माण गरिएको छ । नौ वटा विद्यालयमा पनि खानेपानी र शौचालय निर्माण गरिएको हो । 

पालिकासँगको सहलगानीमा रुकुमेली समाज विकास केन्द्रले बेलायती विकास नियोगको सहयोग तथा युनिसेफको साझेदारीमा भूकम्प प्रभावित क्षेत्रमा खानेपानी तथा सरसरफाइ पुनर्लाभ कार्यक्रम सञ्चालन गरेर खानेपानी आयोजना र शौचालय निर्माण गरेको हो । केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीका अनुसार भूकम्पका कारण खानेपानीको मुहान सुक्दै गएको र प्रभावित क्षेत्रमा झाडापखालालगायतका सरुवा रोगको महामारी फैलिने जोखिम रहेकाले यो कार्यक्रम सञ्चालन गरिएको हो । 

कार्यक्रममार्फत सानीभेरीमा १० वटा र मुसीकोटमा चार वटा खानेपानी आयोजना निर्माण गरिएको छ । यसबाट यहाँका ७३४ घरधुरीका तीन हजार ५५१ जनसङ्ख्या लाभाविन्त भएका छन् । अहिले प्रभावितको घर घरमा मिटरसहितको धारा जडान भएको छ । त्यसै गरी सानीभेरीका पाँच र मुसीकोटका चार विद्यालयमा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ । यसबाट विभिन्न कक्षाका एक हजार ७९७ जना विद्यार्थी लाभान्वित भएका छन् । कार्यकारी निर्देशक ओलीले यहाँका २० वटा समुदायमा सञ्चालन गरेको स्वच्छता प्रवर्धनका गतिविधिमार्फत दुई हजार ३२१ घरधुरीका १३ हजार ३५३ जना लाभाविन्त भएको जानकारी दिनुभयो । कार्यक्रममार्फत सिपमूलक तालिम सञ्चालन गरेर दक्ष जनशक्तिसमेत उत्पादन गरिएको छ । सानीभेरी गाउँपालिका–१ का भूकम्प प्रभावित निर्मला बुढा पुनले घरमै मिटरसहितको धारा पाउँदा खुसी लागेको बताउनुभयो ।

उहाँले एक घण्टा हिँडेर एक गाग्री खानेपानी बोक्नुपर्ने बाध्यता हटेपछि समय र श्रमको बचत भएको जनाउनुभयो । घरमै खानेपानीको धारा भएपछि करेसाबारीको सिँचाइ र वस्तुभाउलाई समेत सहज भएको उहाँको भनाइ छ । मुसीकोट नगरपालिका–१४ का भीमबहादुर विष्टले भूकम्पपछि सुक्दै जान लागेका खानेपानीको मुहान जोगाएर घर घरमा खानेपानी सुविधा पुगेको बताउनुभयो । घरभन्दा टाढाको मूल र खोलाबाट पानी बोक्नुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ । 

भूकम्पपछि समुदाय र विद्यालयस्तरमा सरसरफाइ र स्वच्छ खानेपानीका क्षेत्रमा प्रभावकारी काम गरेर स्थानीय सरकारलाई गुण लगाउने काम भएको सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले बताउनुभयो । उहाँले भूकम्पले क्षति गरेका खानेपानी योजना निर्माण गरेर प्रभावितका घरमा मिटरसहित धारा जडान भएको, शौचालय बन्नुका साथै सरसफाइका क्षेत्रमा सचेतनाका विभिन्न काम भएको उल्लेख गर्नुभयो । अब जनतालाई उत्पादन र रोजगारसँग जोड्ने कार्यक्रम आवश्यक रहेकाले गाउँपालिका पनि त्यसमा लगानी गर्न तयार रहेको अध्यक्ष विष्टको भनाइ छ । 

भूकम्प प्रभावित क्षेत्रमा सरकारी निकायसँगको सहकार्यमा छोटो अवधिमै नतिजामुखि काम भएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख तेजनारायण महतोको प्रतिक्रिया रहेको छ । रुकुमेली समाज विकास केन्द्रले वास क्लस्टरमा सरकारलाई सघाउँदै नमुना काम गरेको उहाँको भनाइ रहेको छ ।