• ८ वैशाख २०८२, सोमबार

नदी दोहनले राताशिला सङ्कटमा

blog

बैतडी समाचारदाता 

पुर्चौडी (बैतडी), पुस १४ गते । त्रिवेणी नदीबाट अनियन्त्रित किसिमले ढुङ्गा तथा बालुवा दोहन हुँदा यस क्षेत्रको प्रसिद्ध राताशिलाधाम सङ्कटमा परेको छ । वरिपरि हरिया खेतका फाँट, तीन वटा नदीको सङ्गमस्थलको बिचमा रहेको राताशिलाधाम अहिले सङ्कटमा परेको छ । पुर्चौडी नगरपालिका–१ हाट, धार्मिक दृष्टिले मात्रै नभई पञ्चायतकालदेखि इलाका प्रशासन कार्यालय रहेको पुरानो प्रशासनिक र व्यापारिक केन्द्र हो । स्थानीय तहको पुनर्संरचनापछि यो ठाउँ नगरपालिकाको केन्द्र तोकिएपछि बजार विस्तार हुन थालेको छ । कोखेत, खडिखेत र गिरिजा बगरमा बजार विस्तार हुन थालेको छ । पुर्चौडी नगरपालिकाको जनसङ्ख्या ४० हजार रहेको छ ।    

चारैतिर अग्ला डाँडा, बिचमा समथल भूभाग भएको पुर्चौडी हाटमा सानाठुला गरेर चार सयभन्दा बढी घर र पसल देख्न सकिन्छ । नगरपालिकाको केन्द्र बनेपछि यहाँका हरिया खेतसमेत घरेडीका रूपमा बिक्री हुन थालेका छन् । धान फल्ने खेतमै ठुला ठुला घर ठडिन थालेका छन् । कङ्क्रिटका महल ठड्याउन गिट्टी, बालुवाका लागि एक मात्र स्रोत नदी किनार बन्न थालेपछि राताशिलाधाम मात्रै होइन, पुर्चौडी हाटकै भविष्य जोखिममा परेको छ । 

राताशिलामा हेरेक वर्ष हरिवोधनी एकादशीका दिन मेला लाग्ने गर्छ । मेलाको मुख्य आकर्षण छालाको भकुन्डो दुई समूह बनाएर रमाइलो गरी खेल्नु हो । नदी दोहनका कारण राताशिलामा भकुन्डो खेल्ने ठाउँ पनि साँघुरो हुँदै गइरहेको छ ।    

खेत मासेर जथाभाबी घर निर्माण हुन थालेपछि यो वर्ष नक्सा पास गरेर मात्रै नयाँ घर निर्माण गर्न दिने तयारी भइरहेको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताउनुभयो । त्रिवेणी नदी किनारको गिरिजा बगरमा सरकारी जग्गा अतिक्रमण गरेर बजार विस्तार भएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले बताउनुभयो । अतिक्रमण हटाउन वन कार्यालयले नक्सासहितको प्रतिवेदन बनाए पनि जनप्रतिनिधिले चासो नदिएको उहाँले गुनासो गर्नुभयो । प्रमुख जिल्ला अधिकारीले साथ दिएपछि दुई वर्षअघि मेलौली नगरपालिकामा भने २७ वटा घर भत्काउन सफल भएको तर पुर्चौडी नगरपालिकाको अतिक्रमण हटाउन नसकिएको वन कार्यालयका कर्मचारी बताउँछन् ।