• १३ पुस २०८१, शनिबार

नियतवश घर लिलामी गरेको भन्दै व्यवसायी आन्दोलित

blog

मिल्स एरियास्थित सिद्धार्थ बैङ्कको कार्यालयपरिसरमा आन्दोलित व्यवसायी । तस्बिर : लक्ष्मी चौधरी

जनकपुरधाम समाचारदाता

जनकपुरधाम, पुस १३ गते । जनकपुरधाम उपमहानगरपालिकाको मिल्स एरियामा रहेको सिद्धार्थ बैङ्क लिमिटेडको ऋण व्यवस्थापन प्रक्रियामा उठेको विवादले स्थानीय व्यवसायी आन्दोलित भएका छन् । 

जनकपुरधाम–८ स्थित वाल्मीकिनगरमा सुद्रिकाकुमारी देवीका नाममा रहेको आठ धुर जग्गामा बनेको अढाईतले घर सिद्धार्थ बैङ्कले बिनाप्रक्रिया लिलाम गरेको भन्दै जनकपुरधामका उद्योगी व्यापारी बिहीबारदेखि आन्दोलित भएका हुन् ।

बैङ्कले ऋणीको सम्पत्ति लिलाम गरेपछि उत्पन्न विवादले बैङ्किङ प्रणाली र ऋण व्यवस्थापनको पारदर्शितामाथि प्रश्न उठाएको छ । पीडित सुद्रिकाका छोरा दिनेश रायले भन्नुभयो, “बैङ्कबाट दुई पटक गरी कुल ७५ लाख रुपियाँ ऋण लिएको हो । ऋण लिएको अवधिभर नियमित रूपमा ब्याज बुझाउँदै आएका थियौँ । म ८६ लाख रुपियाँ बाँकी रकम तिर्न तयार छु र गत नोभेम्बर १३ मा एक लाख रुपियाँ ब्याजसमेत बुझाएको थिएँ ।” बैङ्कले प्रक्रिया पूरा नगरी नियतवश घर लिलामी गरेको उहाँको भनाइ छ । ऋण तिर्छु भन्दा पनि बैङ्कले अटेर गरी घर लिलाम गरेर व्यक्तिको नाममा नामसारी गरिसकेपछि मात्र आफूहरूले जानकारी पाएको पीडितका छोरा रायले बताउनुभयो ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीसहित पीडितले सुद्रिकाको समर्थनमा उभिँदै बैङ्कका शाखा प्रबन्धक अर्नबहादुर बलम्पाकीविरुद्ध कारबाहीको माग गरेका छन् । सङ्घका अध्यक्ष भण्डारीले भन्नुभयो, “यो प्रक्रियाले स्थानीय व्यवसायीको मनोबल गिराउने काम गरेको छ ।”

गत शुक्रबार बैङ्कका शाखा प्रबन्धक बलम्पाकीसँग कुराकानी गरेर जाँदा पनि आइतबारदेखि उहाँले भेट्न आलटाल गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले नियतवश लिलामी गरेको आरोप लगाउँदै भन्नुभयो, “बैङ्कले यसअघि पनि एक व्यापारीको खातामा जम्मा भएको पैसा जम्मा गर्ने व्यक्तिले फिर्ता लगेको भन्दै पैसा नदिँदा पनि व्यापारी आन्दोलनमा उत्रेका थिए ।”

बैङ्कको यस्तो कदमले स्थानीय व्यवसायीलाई आक्रोशित बनाएको छ । नाराबाजी गर्दै ठुलो सङ्ख्यामा व्यवसायी बैङ्कपरिसरमा बिहीबारदेखि नै जम्मा भएर आन्दोलन गरिरहेका छन् । सो क्षेत्रमा सवारीसाधन आवतजावत पनि बन्द गरिएको छ । यता प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले विवादका पक्षहरूबिच छलफल गर्न शाखा प्रबन्धक बलम्पाकीलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको बताउनुभयो । उहाँले विवाद नियन्त्रण गर्न बैङ्कपरिसरमा प्रहरी परिचालन गरिएको बताउनुभयो । व्यवसायीले बैङ्किङ प्रणालीमा सुधारको आवश्यकता औँल्याउँदै यस्तो घटनाले बैङ्कको प्रतिष्ठामाथि आघात पुग्ने बताएका छन् । पीडित परिवारले घरजग्गा फिर्ताको माग गर्दै पत्रकार सम्मेलनमार्फत न्यायको गुहार गरेका छन् । सुद्रिकाका छोरा दिनेश रौनियारले भन्नुभयो, “हामीले दुई करोड रुपियाँभन्दा बढी ब्याज बुझाइसक्यौँ तर बैङ्कले हाम्रो सम्पत्तिमाथि अन्याय ग¥यो ।”