बाँके समाचारदाता
बाँके, पुस १३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्र्रदेशको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तीखाल सुर्खेतमा शुक्रबार पुग्नुभएका मुख्यमन्त्री आचार्यले आयोजनाको कामलाई गति प्रदान गर्न आवश्यक रहेको र त्यसतर्फ जुट्न निर्देशन दिनुभयो ।
मुख्यमन्त्री आचार्यले भन्नुभयो, “आयोजनाको काम अलि सुस्ताएको छ, कामलाई गति प्रदान गर्नूस्, छिटो काम अघि बढ्छ कि भन्ने थियो तर काममा विलम्ब भयो, रिजल्ट छिटो दिने गरी काम सम्पन्न गर्नुपर्ने छ ।” मुख्यमन्त्री आचार्यले आयोजनाको काम सञ्चालन गर्दा मानवबस्ती सुरक्षित हुने गरी गर्नुपर्ने बताउँदै नदी कटान र विपत् जोखिम न्यूनीकरण गरेर काम गर्न अनुरोध गर्नुभयो । आयोजना कार्यालयसँग छलफल गर्नुअघि मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको बर्दियाको बाँसगढी नगरपालिका–१, चेपाङका स्थानीयसँग भेट गर्नुभएको थियो ।
सो अवसरमा अबको दुई वर्षभित्र भेरी नदीको पानी बबई नदीमा झारेर सिँचाइ, विद्युत् उत्पादन सुरु हुने गरी काम भइरहेको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिनुभयो । बहुउद्देश्यीय आयोजनाले ६५.८ प्रतिशत भौतिक प्रगति गरेको उहाँले जानकारी दिनुभयो । हालसम्म टनेल निर्माण कार्य सम्पन्न भएको, सिभिल निर्माण कार्यको भौतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्रोमेकानिकल प्रगति ३० प्रतिशत सम्पन्न भएको जानकारी दिइएको छ ।
हाइड्रोमेकानिकलको भौतिक प्रगति ३९ प्रतिशत र प्रसारण लाइनको भौतिक प्रगति पाँच प्रतिशत भएको छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवको आयोजना हो । बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने र ४६.८ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ।
१२ महिना सिँचाइ र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आर्थिक वर्ष २०६८/६९ बाट भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढेको थियो । भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउनुका साथै ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने छ ।
सिँचाइ विभागद्वारा संशोधित गुरुयोजना अनुसार टनेल निर्माण, बाँध, विद्युत्गृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने प्रक्षेपण छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलो पटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ किलोमिटरको छ ।
चीनको सिआइसी र चाइना इन्जिनियरिङ ओभरसिज प्रालि (कोभेक) को संयुक्त निर्माणमा बनिरहेको छ । मुख्यमन्त्रीसँग ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री सीता चौधरी, पूर्वमन्त्री रत्न खत्रीसहितको टोलीले आयोजनाका बारेमा स्थलगत जानकारी लिनुभएको हो ।