प्रनिश गिरी
पर्वत, पुस १३ गते । पर्वतको जङ्गल क्षेत्रलाई पकेट क्षेत्र तोकेर संरक्षण उपयोगको नीति अवलम्बन गर्न नसक्दा वनजन्य बहुमूल्य जडीबुटी चोरीनिकासी भई मासिने खतरा रहेको छ । जिल्लाको आर्थिक विकासको मुख्य आधार मानिने जडीबुटी संरक्षण र प्रवर्धनमा सरोकारवालाको चासो पुगेको छैन ।
उच्च पहाडी भेगमा पाइने धेरै जसो बहुमूल्य औषधीय गुणयुक्त जडीबुटी अल्लो, सत्तुवा, नागबेली, पाखनभेद, रक्तमूल, भूतकेश, चिराइतो, पदमचाल, वज्रदन्ते पर्वतमा पाइन्छ । सुनाखरी, चिराइतो, अर्गेली, टिमुर, ढकायो, चुत्रो, लोक्ता, सिलटिमुर, धसिङ्रे, खोटो, हर्रोबर्रोलगायतका महìवपूर्ण जडीबुटीसमेत प्रशस्तै पाइन्छ । डिभिजन वन कार्यालय पर्वतका अनुसार जडीबुटी पकेट क्षेत्र तोक्न नसक्दा कुन स्थानमा कुन जडीबुटी कति परिमाणमा पाइन्छ भन्ने यकिन भएको छैन । चोरीनिकासीकै कारण जडीबुटीको आनुवंशिक स्रोत नष्ट हुने खतरा पनि बढेको छ ।
जिल्लाको उत्तरी भेगमा पर्ने तीन हजार मिटर उचाइसम्म फैलिएका सामुदायिक वन सहस्रधारा सामुदायिक वन, खर्सुबास सामुदायिक वन, रेसापातल सामुदायिक वन, ठुला टाउका गैँडाखर्क सामुदायिक वन, छिपछिपे सिलिङ्गे सामुदायिक वनमा औषधीय जडीबुटी प्रजातिका वनस्पति पाइन्छ । रेसापातल सामुदायिक वन लेस्पारका अध्यक्ष रहनुभएका ७३ वर्षीय टेकबहादुर पुनले जडीबुटीको प्रयोग गरी गाउँलेको उपचारसमेत गर्दै आउनुभएको छ ।
अध्यक्ष पुनले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “सामुदायिक वनमा धेरै प्रकारका जडीबुटी पाइने भए पनि अहिले उचित संरक्षणको अभावले कतिपय नासिँदै गाएका छन् भने चोरी हुने क्रम पनि बढेको छ । पहिले प्रशस्तै पाइने धेरै प्रकारका जडीबुटी अहिले थोरै मात्रामा देखिन्छन् । केही वर्षपहिलेसम्म प्रशस्तै पाइने सत्तुवा जातको वनस्पति पाइनै छोडेको छ । यो सत्तुवा मान्छे र गाईवस्तुको खानामा विष परेमा प्रयोग गरे विष पनि मार्ने गर्छ । चोरी गर्नेलाई पनि केही गर्न सकिँदैन । गाउँका मान्छे सहर झरेका छन् । जडीबुटी संरक्षणकै लागि खट्ने र चासो दिने मान्छे पनि गाउँमा कोही छैन ।
खर्सुबास सामुदायिक वन उपभोक्ता समूह क्याङका अध्यक्ष नरसिं पुनले जडीबुटीको उचित संरक्षण हुन नसक्दा धेरै प्रकारका जडीबुटी चोरीनिकासी हुने र जङ्गलमै खेर जाने तर गाउँलेलाई कुनै लाभ नहुने गरेको भनी चिन्ता व्यक्त गर्नुहुन्छ ।
वन कार्यालय पर्वतका वन अधिकृत रामबहादुर विकले जिल्लामा वनजन्य जडीबुटी प्रशस्तै पाइने भएर पनि बजेट र कार्यक्रम नहुँदा यस क्षेत्रमा कुनै कार्य हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “वनजन्य जडीबुटीबाट आर्थिक लाभ लिन सबैभन्दा पहिले कुन स्थानमा कुन जातिको प्रजाति कति मात्रामा पाइन्छ सोही अनुसार पहिले पकेट क्षेत्र तोकिनु पर्छ । जडीबुटीको विस्तृत स्रोत सर्वेक्षण गरिनु पर्छ । पहिले पन्चवर्षीय कार्ययोजना लागु गरिँदासमेत जडीबुटी संरक्षणको खास पहल हुन सकेन ।”
डिभिजन वन कार्यालय, पर्वतको आव २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमसमेत जडीबुटी संरक्षण र प्रवर्धनसम्बन्धी एउटै कार्यक्रम समेटिएको छैन । जिल्लामा वन उपभोक्ता समूह गठन भई १४ हजार ४२२ हेक्टर वन क्षेत्र करिब ४४ हजार १०४ घरधुरीका स्थानीय समुदाय वनसँग जोडिएको भए पनि अहिलेसम्म समुदायस्तरबाट समेत जडीबुटी संरक्षण र प्रवर्धनमा प्रत्यक्ष जोडिएर आम्दानी गरेको पाइँदैन । पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख अशोककुमार नेपालीका अनुसार जिल्लास्तरमा जडीबुटी प्रशोधनसँग सम्बन्धित एउटै उद्योग दर्ता भएको छैन ।