• १३ पुस २०८१, शनिबार

प्रथम कोटेश्वर महोत्सव

नेपाली उत्पादनलाई प्रोत्साहन गरौँ : मेयर शाह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १३ गते । काठमाडौँ महानगरपालिका–३२, कोटेश्वर तीनकुनेमा विभिन्न कलाकार, सांस्कृतिक ब्यान्डको साङ्गीतिक प्रस्तुतिसहित ‘प्रथम कोटेश्वर महोत्सव’ को आयोजना गरिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले शुक्रबार महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली उत्पादनलाई प्रोत्साहन दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले मेला, महोत्सवले नेपाली उत्पादन बिक्रीलाई प्रोत्साहन गर्दै रोजगारी र आर्थिक उन्नतिसँग समाजलाई जोड्न सकिने बताउनुभयो । 

शाहले कपडा, खाद्यसामग्री किन्न असन, न्युरोड सबैको रोजाइमा परे जस्तै कोटेश्वर क्षेत्रलाई पनि नेपाली उत्पादन बिक्री केन्द्रका रूपमा विकास गर्न सकिने सुझाव पनि दिनुभयो । साथै उहाँले तीनकुनेको जग्गा मुआब्जा विवादलाई छिट्टै समाधान गर्दै निकास निकाल्न सङ्घीय सरकार र स्थानीय सरकारले मिलेर काम गर्नुपर्ने बताउनुभयो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले मेला–महोत्सवले सांस्कृतिक महत्वलाई उजागर गर्ने, दर्शक–कलाकारको जमघट तथा प्रतिभा प्रस्फुटनको मौका पनि मिल्ने बताउनुभयो । उहाँले तीनकुनेको महोत्सवले उद्यमी, स्थानीय उत्पादनको र आन्तरिक पर्यटनको प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

बागमती प्रदेश सभा सदस्य सुनील केसीले महोत्सवले कोटेश्वर क्षेत्रको धार्मिक, सांस्कृतिक महथत्वको उजागर हुने र व्यावसायिक प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो । प्रथम कोटेश्वर महोत्सव मूल आयोजक समितिका सदस्यसचिव उत्तमराज भण्डारीले सरस्वती क्लब कोटेश्वर, कोटेश्वर व्यवसायी सङ्घ, महानगरपालिका, स्थानीय वडा तथा विभिन्न सहयोगीसँग हातेमालो गरी आयोजित महोत्सव शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन हुने जानकारी दिनुभयो । 

महोत्सवमा आफ्ना कलाकारको प्रस्तुति हेर्दै, परिवारसँग रमाउने स्वादिष्ट परिकार खाँदै भेटघाट गर्ने अवसर आयोजकले जुटाएको उहाँले बताउनुभयो । कोटेश्वर क्षेत्रको धार्मिक, सांस्कृतिक महìवको उजागर गर्न र कोटेश्वरलाई व्यावसायिक केन्द्रका रूपमा प्रवर्धन गर्ने उद्देश्यले आयोजित सो महोत्सवमा पन्जैबाजा, देउडा, थारू नृत्य धिमे र साकेलाको पनि प्रस्तुति रहेको छ ।

साथै कलाकारहरू महेश काफ्ले, अञ्जली अधिकारी, तीर्थकुमारी थापा, गोकुल ढकाल, अनु चौधरी, सम्झना योङहाङ, सिन्धुली कलाघर, चक्र बम, रवि रिमाल, सुमित्रा कोइरालालगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवका लागि काठमाडौँ महानगरपालिका–३२ कार्यालयले आर्थिक सहयोग गरेको छ  ।