• १३ पुस २०८१, शनिबार

युवा तथा खेलकुदमन्त्री चौधरीद्वारा उद्घाटन

दोस्रो प्रोफेसनल हाप्किडो नेशनल च्याम्पियनसीप सुरु

blog

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै ुवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस १२ गते । दोस्रो प्रोफेसनल हाप्किडो नेशनल च्याम्पियनसीप शुक्रबारबाट नेपालगन्जमा सुरु भएको छ। सातवटै प्रदेशका खेलाडीको सहभागिता रहेको सो दोस्रो राष्ट्रिय प्रतियोगिताको नेपालगन्ज रंगशालाको कभर्ड हलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नुभयो । 

सो अवसरमा बोल्दै उहाँले खेलप्रति खेलाडीको बढ्दो चासो र सहभागिताका कारण सरकारले खेलकुद क्षेत्रमा ठुलो लगानी गर्ने योजना बनाएको बताउनुभयो । 

उहाँले अब देशभरनै विभिन्न खेलकुदका भौतिक पूर्वाधार निर्माणमा सरकारको विशेष ध्यान गएको बताउनुभयो । 

नेपालमा हालै सम्पन्न एनपीएलले विश्व क्रिकेटको ध्यान नेपालतर्फ खिच्न सफल भएको जनाउँदै मन्त्री चौधरीले अब सरकारले क्रिकेट खेलको विकासका लागि विभिन्न पूर्वाधार निर्माणलाई प्राथमिकतमा राख्नुका साथै खेलाडीको रोजगारको पनि व्यवस्था गरिने बताउनुभयो । 

दुई दिनसम्म चल्ने सो प्रतियोगितामा सातवटै प्रदेशका ३५० बढी खेलाडीले ५२–५२ वटा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने हाप्किडो खेलका राष्टिय प्रशिक्षक प्रविन गुरुङले जानकारी दिनुभयो । 

सो अवसरमा नेपाल हाप्किडो एशोसियसनका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगर, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरन्दाज गौतम,  राष्ट्रिय खेलकुद परिषदका सदस्य दिपेन्द्र विष्ट र लुम्बिनी प्रदेशसभा सदस्य माया पुन लगायतले खेलको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने माग गर्दै त्यसले देशको नाम विश्वमा चम्किने बताउनुभयो ।