• १३ पुस २०८१, शनिबार

जनकपुरधाममा ट्रफी प्रदर्शन

blog

जनकपुरधाममा एपीएल विजेता जनकपुर बोल्ट्सको ट्रफी प्रदर्शनी कार्यक्रम। तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, पुस १२ गते। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि हात पारेको खुसीमा जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीका साथमा ट्रफी प्रदर्शन सुरु भएको छ।

एनपीएलको उपाधि जनकपुर बोल्ट्सले पाएपछिको खुसीमा शुक्रबार जनकपुरधाममा खेलप्रेमीको साथमा ‘ट्रफी परेड’ गरिएको हो। प्रदेशको आठ वटै जिल्लामा ट्रफी प्रदर्शन हुनेछ। 

परेडमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसमेत सहभागी भएर खेलाडी र आयोजकको हौसला बढाउनुभएको छ। 

जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट सुरु भएको परेड थापा चोक, पिडारी चोक, रामानन्द चोक, जिरोमाइल, विश्वकर्मा चोक, राम चोक हुँदै जानकी मन्दिर परिसरमा पुगेर सम्पन्न भएको थियो। 


त्यस्तै शनिबार महोत्तरी, सर्लाही र रौतहट, आइतबार बारा र पर्सा, सोमबार सिराहा र सप्तरीमा परेड गरिने कार्यक्रम रहेको छ। जनकपुरधामको परेडमा मधेश प्रदेश क्रिकेट सङ्घ, नागरिक समाज र खेलप्रेमी सहित मधेशका विभिन्न क्षेत्रका स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।

गत शनिबार आयोजित फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले पहिलो संस्करणको एनपीएलको उपाधि जितेको थियो । यो ऐतिहासिक विजयले मधेश प्रदेशलाई नेपाली क्रिकेटमा विशेष पहिचान दिलाएको छ।