• १३ पुस २०८१, शनिबार

'मानव-वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि विद्यालयस्तरबाटै सिकाई आवश्यक'

blog

साबित्री गिरी

कोहलपुर, पुस १२ गते । मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे सचेतना मुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । विद्यालय तहबाटै जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे नयाँ पुस्तालाई सिकाउन सके मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न सहज हुने उनीहरुले बताएका हुन् । 

बर्दियाको मधुवन नगरपालिका २ स्थित मञ्जुश्री शिशु बाटिका माध्यमिक विद्यालयमा सम्पन्न ‘शुक्रबार वातावरण बार’ कार्यक्रममा बोल्दै कार्यक्रमका सहभागि कक्षा १० मा अध्ययनरत क्षात्रा सिता थारुले वन वन्यजन्तु तथा वातावरण संरक्षणको कुरा आफूहरुले अहिल्यैदेखि सिक्न सके यसक्षेत्रमा हुने मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न सहज हुने बताउनुभयो । साथै उहाँले विद्यालय आउँजाउँ गर्दा मनमा डर उत्पन्न हुने र पढाईमा पनि राम्रोसँग ध्यान दिन नसकेको बताउनुभयो । 

कार्यक्रमका अर्का सहभागि कक्षा १० मा अध्ययनरत विद्यार्थी आर्यन परियारले वातावरण बारे अन्त्रगत मानव र वन्यजन्तुबिचको सह–अस्तित्वको सम्बन्धबारे जानकारी पाएको बताउँदै वातावरणीय सुरक्षाका बारेमा  जान्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो । 

कक्षा ९ र १० का ८० जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा विषयविज्ञ मदन ज्ञवालीलले छलफलको सहजीकरण गर्नुभएको थियो । उहाँले विद्यार्थीहरुलाई वातावरणको महत्व तथा जैविक विविधताको विषयमा जानकारी गराउनुभएको थियो । 

युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सवलीकरण अभियान’ को गतिविधीका रुपमा यो कार्यक्रम आयोजना गरिएको हो । यो कार्यक्रम समुदायका लागि सञ्चार अभियान नेपालको आयोजनामा बाँके र बर्दियामा सञ्चालित छ ।