तिलाचन पाण्डे
तम्घास, पुस १२ गते । गुल्मीमा दोस्रो मुसिकोट महोत्सव सुरु भएको छ । गुल्मी मुसिकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस १२ गतेदेखि २१ गतेसम्म दोस्रो मुसिकोट कृषि, पर्यटन, खेलकुद, सांस्कृतिक, औद्योगिक एवम् व्यापार महोत्सव सुरु भएको प्रचारप्रसार उपसमितिका संयोजक वसन्त अधिकारीले जानकारी दिनुभयो ।
महोत्सवको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवन खरेलले व्यवसायीहरूको हित र रक्षाका लागि सदैव स्थानीय सरकार साथमा रहेको बताउनुभयो । महोत्सवमा कलाकार मात्रैलाई प्राथमिकता दिनुभन्दा पनि स्थानीय उत्पादन र कला संस्कृतिको जर्गेना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । महोत्सव सम्पन्न गर्नका लागि नगरको पनि सहयोग रहने उहाँले बताउनुभयो ।
मुसिकोट नगरपालिका महोत्सवको संरक्षक रहेको आयोजकले जनाएको छ।मुसिकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपीकृष्ण खरेलले कृषि, पर्यटन, जलश्रोत, उद्योग र व्यापार, मुसिकोटको समृद्धिको आधारलाई प्राथामिकता दिएर महोत्सव आयोजना गरिएको बताउनुभयो।
विशेषगरी स्थानीय स्तरमा उत्पादन भएका कृषि, पशुपंछीलाई प्रर्दशनी गर्ने, स्थानीय कला, संस्कृतीको जर्गेना गर्ने गरी महोत्सव गरिएकोे उहाँको भनाइ छ । यसका साथै खेलकुदलाई पनि प्राथामिकता दिएर खुला भलिवल प्रतियोगिता पनि आयोजना गरिएको खरेलले बताउनुभयो ।
सांस्कृतिक उपसमितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ज्ञानहरि सापकोटाले गुल्मी जिल्लाका कलाकारहरूलाई प्राथमिकता दिनुका साथै स्थानीय कला र संस्कृतिको जर्गेना गर्ने बताउनुभयो । यसका साथै राष्ट्रिय स्तरका कलाकारहरूको पनि दैनिक रूपमा प्रस्तुती रहने उहाँले बताउनुभयो ।