• १३ पुस २०८१, शनिबार

शीतलहर सुरु, बढ्यो चिसो

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, पुस १२ गते । शीतलहर सुरु भएपछि नेपालगन्जमा मङ्गलबारबाट चिसो बढेको छ । सोमबारसम्म घाम लाग्दै आए पनि मङ्गलबारदेखि शीतलहर चल्न थालेकाले चिसो अत्यधिक बढेको हो । 

चिसो बढ्दै जाँदा बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम पनि बढेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका छन् । शीतलहर चलेर चिसो बढ्न थालेपछि जिल्लाका सबै पालिकालाई शीतलहरमा सर्वसाधारणलाई जोगाउने उपाय अपनाउन आग्रह गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताउनुभयो । 

उहाँले चिसो तथा शीतलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र तथा समुदाय पहिचान गरेर उनीहरूलाई जोगाउनका लागि विभिन्न कदम चाल्न स्थानीय तहलाई आग्रह गरिएको बताउनुभयो । 

चिसो मौसम सुरु भएयता केही समयदेखि नेपालगन्जका स्वास्थ्य संस्थामा बिरामी आउने क्रम बढेको ती स्वास्थ्य संस्थाले जनाएका छन् ।