बुटवल समाचारदाता
बुटवल, पुस १२ गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले छुट्टै प्रसूति सेवा शल्यक्रिया कक्ष निर्माण गरी सेवा सुरु गरेको छ । अस्पतालले प्रसूति सेवाका लागि छुट्टै शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएपछि अब सातै दिन प्रसूति सेवा शल्यक्रियाको सुविधा उपलब्ध हुने भएको छ ।
शल्यक्रिया सेवा शुभारम्भका अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. वासुदेव उपाध्यायले प्रदेशमा मातृ मृत्युदर घटाउन विस्तारित अस्पताल सेवालाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । उहाँले प्रसूति सेवाका लागि छुट्टै उपचार तथा शल्यक्रिया कक्षको व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई रोजेको उल्लेख गर्नुभयो ।
अस्पतालमा सेवा विस्तारका लागि ५० लाख रुपियाँ बजेट व्यवस्था गरी अस्पतालमा रहेका उपकरणको व्यवस्थापन तथा शल्यक्रिया कक्ष निर्माणमा सहयोग गरेको उहाँले जानकारी दिनुभयो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले अस्पतालमा आठ शय्याको रिकभरी वार्ड तथा १५ शय्याको पोस्ट अपरेटिभ शय्यासहित नयाँ शल्यक्रिया कक्षको सेवा सञ्चालनमा आएको बताउनुभयो । उहाँले अब हप्ताको सातै दिन प्रसूति सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध हुने बताउनुभयो ।
सञ्चालनमा ल्याइएको नयाँ शल्यक्रिया कक्षमा एक वटा शल्यक्रिया कक्ष तथा दुई वटा ठुला शल्यक्रिया कक्ष रहेका छन् । मेसु ढकालले छुट्टै शल्यक्रिया कक्ष सञ्चालनसँगै प्रसूति सेवा थप गुणस्तरीय र सहज हुने बताउनुभयो । अस्पतालबाट वार्षिक नौ हजारभन्दा बढी बिरामीले शल्यक्रिया सेवा लिँदै आएका छन् ।