• ११ पुस २०८१, बिहिबार

जहाँ गरिन्छ आफ्नै अन्त्येष्टिको तयारी

blog

बेलायती संस्कारमा आफ्नो मृत्युको व्यवस्थापनसम्बन्धी दुई विषयलाई निकै महत्वका साथ लिने गरिन्छ । शेषपछि आफूले जम्मा गरेको सम्पत्तिको हकदार को हुने तथा आफ्नो अन्त्येष्टि कसरी गर्ने भन्ने बारे लामो समयदेखि योजना तय गर्ने परम्परा नै बनेको छ । 

विशेषतः काम विशेषले बैङ्क जाँदा सोधिने प्रश्न भनेको– तपाईले आफ्नो स्वइच्छापत्र तयार पार्नुभएको छ अर्थात् तपाईंको ‘बिल’ तयार छ भनेर सोधिन्छ । मलाई पहिलो पटक बैङ्कमा खाता खोल्न जाँदा सन् १९९७ मा नै यो प्रश्न गर्दा अक्कबक्क भएको थिएँ । मैले कुरा नबुझेको प्रतिक्रिया दिँदा सायद उसले बुझेर थप प्रश्न गरेन । त्यसपछि पनि यही प्रश्न गर्दा जिस्केर दिन पुग्ने सम्पत्ति नै जम्मा गरेको छैन भन्ने गरेको छु । यो जवाफले अहिलेसम्म काम गर्दै आएको छ ।

नेपाल, भारत, बालीलगायत एसियाका केही देश र क्षेत्रमा जस्तो अन्यत्र सार्वजनिक रूपमा दाहसंस्कार गर्ने चलन छैन । अर्थात् अन्यत्र खुला रूपमा मलामी गएर शव जलाउने चलन छैन । अपवादका रूपमा हिन्दुहरू धेरै भएका केही अफ्रिकी मुलुकहरू केन्या, तान्जानियाका गाउँठाउँमा भने खुला रूपमा शव जलाउने गरिन्छ । इस्लाम धर्ममा शवलाई जमिनमा गाडेर प्रकृतिलाई नै फिर्ता गर्ने भन्ने प्रचलन रहेको छ । इसाईहरूको पनि यस्तै मत भए पनि अचेल जलाउने कि गाड्ने भन्ने इच्छा सम्बन्धित व्यक्ति वा परिवारको हुने गरेको छ । 

त्यसैले यहाँका सबै चिहानमा विद्युतीय शवगृह पनि बनाइएको छ । जलाइएका शवको खरानी भने जमिनमा गाड्ने चलन रहेको छ । यहाँको प्रत्येक गाउँ, शहरमा स्थानीयको चिहानका लागि निश्चित भूभाग छुट्याइएको हुन्छ ।

मृत्युपछि कुनै पनि व्यक्तिगत सम्पत्ति के हुने भन्ने बारे यहाँ छुट्टै कानुन प्रचलनमा छ । आफूले आर्जन गरेको सम्पत्ति आफूखुशी गर्न पाउने यहाँको कानुनले निश्चित गरेको छ । यहाँ हकदारहरूको स्वतः हक लाग्ने वा कसैको मृत्युपछि अंशियारहरूले पाउने प्रत्याभूति गरिएको छैन । 

शेषपछि आफ्नो सम्पत्तिको व्यवस्थापन कसरी गर्ने भन्ने इच्छापत्रसम्बन्धी कानुन लागू गरिएको लामो समय भएको छ । सन् १५४० मा नै ‘स्ट्याचु अफ विल’ वा ‘विल एक्ट’ बाट यसको सुरुवात भएको थियो । त्यतिबेला जमिनदारको जमिन एकाघरका सन्तान नभए मृत्युपछि सरकारको नियन्त्रणमा जाने गर्दथ्यो । यो व्यवस्था जमिनदारहरूले परिवर्तन गर्न चाहन्थे र राजासँगको सहमतिमा यससम्बन्धी कानुन निर्माण भएपछि जमिन, घर आफूले इच्छाएको व्यक्तिको नाममा नामसारी हुने व्यवस्था सुरु भयो । 

यस कानुनमा सन् १८३७ मा परिमार्जन गरी जो कसैले पनि लिखित रूपमा साक्षीहरूको सनाखतमा आफ्नो जायजेथा जसको नाममा पनि दिन पाउने व्यवस्था भयो । यसका लागि १८ वर्ष उमेर पुगेको कसैले पनि अरूको प्रभावमा नपरी स्वतन्त्र रूपमा आफ्नो सम्पत्ति लिखित रूपमा शेषपछि हकदैया पुग्ने गरी कागज गरिदिन सक्ने भयो । विवाह हुनुपूर्व तयार भएका यस्ता इच्छापत्र भने विवाह भएमा स्वतः बदर हुने तथा इच्छापत्र तयार भएपछि सम्पत्तिमा थपघट वा परिवर्तन भएमा त्यही अनुसारको संशोधन वा नयाँ इच्छापत्र लेख्न पर्ने व्यवस्था गरियो । सेना तथा समुद्रमा काम गर्नेको हकमा भने १८ वर्ष उमेरको हद कायम गरिएन र हुँदैन । 

कोही कसैले आफ्नो सम्पत्ति के गर्ने भनेर कुनै इच्छापत्र तयार नगरेको भए हकदारको कानुन अनुसार सबैलाई बाँडफाँट गरिदिने चलन छ तर कसैको आफन्त नातागोता कोही भएन भनेचाहिँ त्यस्तो सम्पत्तिमाथि सरकारी एकाधिकार हुने गर्दछ । 

सन् २०२१ मा सरकारी कोषमा करिब १४ अर्ब रुपियाँ बराबरको कसैले दाबी नगरेको सम्पत्ति जम्मा भएको तथ्याङ्क छ । यहाँ घरपालुवा जनावरको सङ्ख्या अधिक भएका कारण उनीहरूको स्याहारसुसारका लागि पनि निश्चित कोष उपलब्ध हुने व्यवस्था मिलाइएको हुन्छ । यहाँ जनावरको नाममा सिधा इच्छापत्र लेख्न पाउने व्यवस्था नभएका कारण आफ्नो मृत्युपछि अर्को विश्वासिलो व्यक्तिको नाममा स्पष्ट रूपमा त्यस्तो जनावरको स्याहारसुसारका लागि भनेर रकम छुट्याउने चलन भने छ । 

कतिपयले विभिन्न सामाजिक सङ्घ संस्थाको नाममा पनि निश्चित रकम लेखिदिएका हुन्छन् । सन् २०२२ मा विभिन्न च्यारिटी संस्थाको नाममा करिब पाँच खर्ब रुपियाँ बराबरको सम्पत्ति स्वइच्छापत्रबाट प्राप्त भएको देखिन्छ । यसरी प्राप्त हुने सम्पत्तिमा सरकारले ठूलो मात्रामा कर लगाउने गर्दछ । 

अचेल तीन लाख २५ हजार पाउन्डसम्मको सम्पत्तिमा कुनै कर लाग्दैन भने त्यसमाथि ४० प्रतिशत कर तिर्नुपर्ने हुन्छ तर कुल सम्पत्तिको १० प्रतिशत कुनै संस्थालाई दान दिएमा बाँकी सम्पत्तिको ३६ प्रतिशत मात्र सरकारी कर लाग्ने गर्दछ । मृत्यु हुनुपूर्व आफू बसेको घर छोरा, छोरी वा नाति, नातिनीको नाममा दियो भने एक जना भए थप एक लाख ७५ हजार अर्थात् पाँच लाख तथा दुई जना भए १० लाखसम्मको सम्पत्तिमा कुनै कर लाग्दैन । 

यसरी सम्पत्ति पास गरी दिएको सात वर्षपछि दिनेको मृत्यु भएमा कर छुट हुने तर तीनदेखि चार वर्षमा मृत्यु भएमा क्रमशः दुई, चार, २६ र आठ प्रतिशत लाग्ने चलन छ । यस्तो सम्पत्तिमाथि सबैभन्दा बढी जापानमा ५५  प्रतिशत कर लाग्ने व्यवस्था रहेको छ । 

बेलायत सरकारको करको एक मुख्य स्रोत यस्तो सम्पत्ति नै हो । यसरी सन् २०२२/२३ को आर्थिक वर्षमा करिब १२.६ खर्ब नेपाली रुपियाँको सम्पत्ति जम्मा भएको देखिन्छ । 

आफ्नो मृत्युपछि दाहसंस्कारको भार आफूलाई नपरोस् भनेर धेरै अगाडिदेखि नै त्यसका लागि लाग्ने खर्च छुट्याउने चलन छ । एकैपटक खर्च जुटाउन अप्ठ्यारो पर्ने भएकाले महिनावारी रूपमा निश्चित रकम जम्मा गर्ने गरिन्छ । यसका लागि छुट्टै बिमाको व्यवस्था पनि छ । प्रिपेड योजना अनुसार भने जहिले मृत्यु भए पनि वर्तमान भाउमा नै दाहसंस्कार हुने भएकाले प्रायः जसोले उही उपाय अपनाएका हुन्छन् । 

सन् १७८९ सम्म दाहसंस्कारलाई व्यवस्थापन गर्ने छुट्टै सेवा बेलायतमा थिएन । पहिलोपटक लन्डनमा विलियन लेभरटनले लेभरटन एन्ड सन्सको नाममा यो सेवा प्रदान गरेका हुन् । अहिले पनि यसले राजपरिवारका सदस्यको अन्त्येष्टि गर्ने गरेको छ । हाल बेलायतका प्रत्येक गाउँ, शहरमा विभिन्न सेवा प्रदान गर्ने गरी ‘फ्युनेरल डाइरेक्टर’ को कार्यालय सञ्चालित छन् । 

बेलायतमा मृत्यु संस्कारलाई अति नै सम्मानका साथ लिने र व्यवस्थित गर्ने प्रचलन छ । आफन्त साथीभाइसँग भेट हुने एउटा अवसरका रूपमा पनि यसलाई लिने गरिन्छ । अस्पताल वा घरबाट शव सङ्कलन गरेपछि दाहसंस्कार नगरेसम्मको सबै व्यवस्था यस सेवा अन्तर्गत पर्दछ । आर्थिक हैसियतको आधारमा दाहसंस्कारको प्रकार पनि फरक फरक हुने गरेको छ । यस्तो सेवा उपलब्ध हुनुपहिले पारिवारिक भेला भई स्थानीय चर्च नजिकै शव गाड्ने चलन थियो । 

सन् १८८५ सम्म यहाँ शवलाई गाड्ने गरिन्थ्यो । कसैको मृत्युपछि नाप अनुसार कफिन बनाउनका लागि सिकर्मीलाई घरमै बोलाउने चलन थियो । पहिलो पटक ‘क्रिमेसन सोसाइटी अफ ग्रेट ब्रिटेन’ ले सरेको ओकिङमा शवलाई कोइलाले जलाइयो । त्यसको करिब ५० वर्षपछि मात्र विद्युतीय शवदाहगृह प्रयोगमा आयो । 

मृत्युपछि पनि जग्गाजमिन ओगट्न पर्ने र यो क्रम जारी रहे पृथ्वीको ठूलो भाग चिहानका लागि छुट्याउनुपर्ने भएकाले दाहसंस्कारको शैली परिवर्तन गरिएका हुन् । त्यसैले अहिले प्रायः देशमा विद्युतीय शवदाह प्रचलनमा आएको छ । 

बेलायतको हाइगेट एक प्रसिद्ध चिहान मानिन्छ । त्यहाँ कार्ल माक्र्सलगायत थुप्रै प्रसिद्ध व्यक्तिको शव गाडिएको छ । करिब एक लाख ७० हजार मानिसको शव गाडिएको यस चिहानमा आफ्नो शवको अन्त्येष्टि गर्नका लागि धेरै मानिसले निवेदन दिने भए पनि केहीले मात्र मौका पाउँछन् । यसका लागि धेरै शुल्क तिर्नु पर्दछ ।

परम्परागत धार्मिक अन्त्येष्टि पनि यहाँ प्रचलनमा रहेको छ ।  व्यक्तिको गच्छे अनुसार घोडाबग्गी वा गाडीमा कफिन राख्ने र सबैले कालो कपडा लगाउने चलन छ । फूल अत्यधिक प्रयोग गर्ने तथा गाडिएको ठाउँमा स्मारक स्थापना गरिने भएको हुँदा आफन्तले विशेष दिनमा भेट्न आउने, पानी चढाउने  र सरसफाइ गर्ने चलन छ ।

मृत्युपछि केही कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । स्कटल्यान्डमा आठ दिन र अन्य तीन राज्यमा पाँच दिनभित्र मृत्यु प्रमाणपत्रसहित दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । यो प्रमाणपत्र प्राप्त भएपछि सम्पूर्ण व्यवस्थापन इच्छाइएको कम्पनीबाट हुन्छ । कोही कसैको कोही पनि भएन भने वा परिवारको आर्थिक हैसियत कमजोर भए स्थानीय काउन्सिलले सामान्य रूपमा अन्त्येष्टिको दायित्व निर्वाह गर्दछ । 

अचेल वातावरण तथा प्रकृति संरक्षणमा व्यापक जनसहभागिता भएकाले शवलाई पानी र अन्य रासायनिक पदार्थले तरल बनाएर प्रकृतिमा समाहित गर्ने चलनले महत्व पाउन थालेको छ, यो तर त्यति व्यापक भएको छैन । एक विशेष किसिमको अन्त्येष्टि चाहिँ समुद्रको पिँधमा शव राख्नु हो । यसका लागि लामो सरकारी प्रक्रिया पूरा गर्नुपर्ने तथा यसका लागि कम अनुमति दिइने गरिन्छ । मृत्युपश्चात् अङ्गदान दिने चलनसमेत बढेको छ भने शरीर नै कुनै अस्पताल तथा अनुसन्धान केन्द्रमा बुझाइदिने पनि छन् । 

जीवनयापनका क्रममा बनाइने योजनामध्ये आफूले जम्मा गरेको सम्पत्ति र आफ्नो मृत शरीरको व्यवस्थापन के कसरी गर्ने विषय विकसित देशका नागरिकको महत्वपूर्ण दायित्वभित्र पर्दछ । 

विगतको नेपाली समाजमा विशेषगरी महिलाले मृत्युपश्चात् आफ्नो दाहसंस्कारमा चाहिने सामान पोका पारेर राख्ने गरेको सुनिन्थ्यो । एउटा पोकामा राखिएको तिल, जौ, चामल, सुनको सानो टुक्रा, धूपबत्ती, अबिर आदि त्यसरी राखिन्थ्यो । 

–युवामञ्च     

Author

सुरेन्द्र नेपाल श्रेष्ठ