• ११ पुस २०८१, बिहिबार

अङ्ग्रेजी, विज्ञान र गणित विषयका शिक्षक अभाव

blog

तिलाचन पाण्डे 

तम्घास, पुस ११ गते । गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषयका शिक्षकको अभाव देखिएको छ । विद्यार्थी कम उत्तीर्ण हुने विषयमा नै शिक्षक पाउन मुस्किल भएपछि नतिजा नै खस्किने हो कि भन्ने चिन्ता सबैमा छ । 

मुसीकोट नगरपालिकाको मुसीकोट माध्यमिक विद्यालय, जनज्योति माध्यमिक विद्यालयका र शिवशङ्कर माध्यमिक विद्यालयमा छ/छ पटक विज्ञापन गर्दा पनि शिक्षक नपाइएको मुसीकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले बताउनुभयो । यस्तै सोही नगरपालिकाको ददल्का माध्यमिक विद्यालयका लागि पनि गणित शिक्षकका लागि तेस्रो पटक विज्ञापन गरिएको छ । सोही नगरपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र सीतापुर माध्यमिक विद्यालयका लागि विज्ञान विषयको शिक्षकका लागि विज्ञापन गरिएको छ । त्यसमा पनि शिक्षक पाउन मुस्किल भइरहेको उहाँले बताउनुभयो ।

नेपालको शिक्षण पेसामा पढे लेखेकाले भविष्य नदेख्नु र शिक्षण पेसामा सम्मान नहुनुका साथै निजामती सेवा सरह राज्यले हेर्ने दृष्टिकोण नहुनु पनि मुख्य समस्या रहेको नेपालीले बताउनुभयो । 

यही अवस्था रहेमा गणित, अङ्ग्रेजी र विज्ञानका शिक्षक पाउनै मुस्किल हुने मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताउनुभयो । 

शिक्षक सेवा आयोगको अस्थायी योग्यता क्रमबाट सूचना प्रकाशन गर्दा पनि शिक्षक नपाइएकाले विद्यालयको पठनपाठनमा समस्या देखा पर्दै आएको गिरीले बताउनुभयो । शिक्षक ग्रामीणस्तरमा जान रुचि नदेखाउने र सुगम रोज्ने प्रचलन देखिन्छ । गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा माध्यमिक विद्यालयले गत वर्ष पटक पटक आवेदन खुलाउँदा चार महिनामा बल्लतल्ल शिक्षक पाइएको विद्यालयका प्रधानाध्यापक भागीरथ भण्डारीले बताउनुभयो । 

पछिल्लो समय गुल्मीमा शिक्षकले राजीनामा दिने लर्को नै लागेको छ । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका अनुसार साउन १ गतेदेखि हालसम्म १८ जनाले राजीनामा दिएका छन् । प्राथमिक तहमा १६ जना, माध्यमिक तहमा दुई जना गरी कुल १८ जनाको राजीनामा स्वीकृत भएको कार्यालयका प्राविधिक सहायक रामप्रसाद पन्थीले जानकारी दिनुभयो । गुल्मीमा सामुदायिक र संस्थागत गरी ५९० वटा विद्यालयमा ५६ हजार २०३ विद्यार्थी सङ्ख्या रहेको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीले जनाएको छ ।